x

सरकारको सुपथ मूल्य पसल सञ्चालन हुने, भदौ ३० देखि सुरु

१७ भाद्र २०८२, मंगलवार १४:३२

काठमाडौं । उपभोक्तालाई राहत दिने उद्देश्यसहित सरकारले यस वर्ष पनि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । पसलहरू आगामी भदौ ३० गतेदेखि छठ पर्वसम्म सञ्चालन हुनेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसाल्ट ट्रेडिङ कर्पोरेशनले संयुक्त रूपमा पसल सञ्चालन गर्न लागेका हुन् । गत भदौ ८ गतेको मन्त्रीस्तरीय बैठकले सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

कस्ता वस्तु कस्तो छुटमा ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार—

  • चामल, गहुँ, चिनी, दाल, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट
  • चिउरा, पिठो, मैदा, आँटामा प्रतिकिलो ७ रुपैयाँ छुट
  • जिरा, धनिया, चियापत्ती, खसी–बोका–च्याङग्रा (जिउँदो)मा प्रतिकिलो १० रुपैयाँ छुट
  • तोरीको तेल, सनफ्लावर तेल, भटमास तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट
  • कर्णाली क्षेत्रका सिमी, फापर, चिनो, कागुनो, उवा, जुम्ली मार्सी र बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट

यता, साल्ट ट्रेडिङ कर्पोरेशनले—

  • नुन र चिनीमा प्रतिकिलो २ रुपैयाँ छुट
  • तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने भएको छ ।

कहाँ–कहाँ खुल्ने ?

काठमाडौं उपत्यकामा कालिमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल, महाराजगञ्जलगायत १२ स्थानमा पसल खुल्नेछन् । साथै, उपत्यकाभित्र ३ वटा घुम्ती पसल पनि सञ्चालन हुनेछन् ।

उपत्यकाबाहिर साल्ट ट्रेडिङका पसल धनगढी, टिकापुर, अत्तरिया, बेलौरी, दिपायल, सुर्खेत, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणगढ, त्रिशुली, पोखरा, बागलुङ, भैरहवा, कृष्णनगर, दाङ, डडेलधुरा लगायतका शहरमा सञ्चालन हुनेछन् ।

यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंसहित ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

सरकारले चाडपर्वमा बढ्दो महँगीलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष यस्ता पसल सञ्चालन गर्दै आएको छ ।