काठमाडौँ — पूर्णबहादुर खड्काले शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहको संयुक्त बैठकमा समानुपातिक सांसद सिफारिस प्रक्रियामा गम्भीर त्रुटि भएको बताएका छन्।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको काठमाडौँको महाराजगञ्जमा बसेको बैठकमा खड्काले विशेष महाधिवेशनबाट आएको नेतृत्वले सिफारिस प्रक्रियामा असमान व्यवहार गरेको आरोप लगाएका हुन्।
उनका अनुसार पिछडिएको क्षेत्रतर्फ पहिलो नम्बरमा सिफारिस भएकी विद्या तिमिल्सिनाको नाम हटाएर सोही क्लस्टरमा नाम नै नरहेका खस आर्य समूहका ७ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई सांसद बनाइएको छ।
यस विषयमा असन्तुष्टि जनाउँदै तिमिल्सिनाले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्, र उक्त रिट दर्ता भइसकेको जानकारी बैठकमा दिइएको थियो।
त्यसैगरी दलित कोटाका मानबहादुर नेपालीले पनि सिफारिस प्रक्रियामा पक्षपात भएको भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।
खड्काको ब्रिफिङअनुसार समानुपातिक सिफारिसमा देखिएको यो विवादले पार्टीभित्र असन्तोष बढाएको छ।
