
२४ चैत्र २०८१, सोमबार १४:२४
जोमसोम, मुस्ताङ – राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक कालोपत्र भई यात्रा सहज बन्दै गएपछि पोखरा–जोमसोम हवाई उडानमा dramatical गिरावट आएको छ।
पूर्वाधार विकासले गर्दा अहिले हवाई यात्रुको चहलपहल घटेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख केशव लम्सालका अनुसार अघिल्ला वर्षहरूमा दैनिक १८ वटासम्म हुने हवाई उडान हाल घटेर दैनिक ५ देखि ६ मा सीमित भएको छ।
हवाई यात्रुको घट्दो सङ्ख्याको प्रमुख कारण भनेकै सडकको सुधार हो। कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्मको दुई तिहाइभन्दा बढी सडक अहिले कालोपत्र भइसकेको छ।
“सडक सहज र सस्तो भएका कारण धेरैजसो पर्यटकले सडकमार्ग रोजेका छन्”, तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले बताए। उनका अनुसार हाल हवाईमार्गबाट आउने यात्रुहरूमा ८० प्रतिशत भारतीय तथा २० प्रतिशत अन्य विदेशी छन्।
एक समय दैनिक ३०० भन्दा बढी पर्यटक हवाईमार्ग हुँदै मुस्ताङ पुग्ने गरेका थिए भने अहिले त्यो सङ्ख्या आधा पनि छैन। साथै, विगतमा पोखरा–जोमसोम हवाईमार्गमा भएका दुर्घटनाहरूले पनि पर्यटकलाई सडकमार्ग रोज्न प्रेरित गरेको अनुमान गरिएको छ।
वसन्त ऋतुको आगमनसँगै मुस्ताङ घुम्न अनुकूल समय भए पनि पर्यटकहरू सडक मार्गतर्फ आकर्षित भइरहेको देखिन्छ।
