x

संस्थापक अध्यक्ष वंशलाल तामाङलाई सिन्धु–युएसए वेलफेयर सोसाइटीद्वारा सम्मान

३ कार्तिक २०८२, आईतवार १६:१७

न्यूयोर्क ।
सिन्धु–युएसए वेलफेयर सोसाइटी इंकले आफ्नो १५औँ स्थापना दिवस तथा दीपावली साँझका अवसरमा संस्थापक अध्यक्ष वंशलाल तामाङलाई विशेष सम्मान गरेको छ।

क्वीन्सको वुडसाइडस्थित गुलशन टेरेसमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य न्यूयोर्क राज्य एसेम्ब्लीका नवनिर्वाचित सदस्य स्टीभन रागा (Steven Raga) रहेका थिए।

Education for Life (जीवनका लागि शिक्षा)’ भन्ने मूल नाराका साथ स्थापना भएको सोसाइटीले स्थापनाकालदेखि नै नेपालमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। संस्थाले आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गर्दै आएको छ। साथै, SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने परम्परा निरन्तरता दिँदै आएको छ।

कार्यक्रमका वक्ताहरूले संस्थाको सफल यात्रामा वंशलाल तामाङको अग्रणी भूमिकाको प्रशंसा गर्दै उहाँले देखाएको नेतृत्व र समर्पणले आज संस्थालाई यो उचाइमा पुर्‍याएको बताएका थिए।

प्रमुख अतिथि स्टीभन रागाले संस्थाले शिक्षा र सामाजिक सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै “डायस्पोरामा रहेर पनि मातृभूमिप्रतिको दायित्व पूरा गर्ने कार्य अत्यन्त प्रशंसनीय छ,” भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा संस्थाका पदाधिकारीहरूले नेपालमा अझ बढी विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामग्री उपलब्ध गराउने योजना सार्वजनिक गरे।

दीपावलीको उल्लासपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, गीत, संगीत र नृत्य प्रस्तुत गरिएका थिए। सहभागीहरूले भेटघाट गरी चाडपर्वको शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रमले समुदायबीच एकता, सहकार्य र मातृभूमिप्रतिको माया झल्काउने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजक समितिले जनाएको छ ।