वायु प्रदूषण उच्च: सरकारद्वारा सतर्कता अपनाउन आग्रह

२० चैत्र २०८१, बिहीबार ०८:५०

काठमाडौं, २१ चैत – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार नेपाल केही दिनदेखि अत्यधिक प्रदूषित देशको सूचीमा परेको जनाएको छ।

मन्त्रालयका अनुसार AQI मापनअनुसार ०–५० सम्म ‘स्वच्छ’, ५१–१०० ‘सामान्य’, १०१–१५० ‘सम्भावित जोखिम’, १५१–२०० ‘अस्वस्थकर’, २०१–३०० ‘अत्यधिक अस्वस्थकर’ र ३०१ भन्दा माथि ‘खतरनाक’ मानिन्छ। हाल काठमाडौंको AQI ३४८ पुगिसकेको छ, जसले यसलाई ‘खतरनाक’ श्रेणीमा पुर्‍याएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटी एलर्जी, छालाको समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने बताउँदै बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरे।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषण नियन्त्रण गर्न जनस्तरबाट पहल गर्न, स्वास्थ्यमा विशेष ध्यान दिन तथा सम्बन्धित निकायहरूलाई तत्काल सुधारका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ।

गर्मी मौसममा वन डढेलो, सडक निर्माण, औद्योगिक क्रियाकलापलगायत कारणले वायु प्रदूषण उच्च हुने भएकाले सरकारी निकायहरूले सार्वजनिक यातायातको प्रवर्द्धन, फोहर व्यवस्थापन, निर्माण कार्यमा धुलो नियन्त्रण तथा वन डढेलो रोक्न आवश्यक कदम चाल्नुपर्ने जनाएको छ।

सरकारले आम नागरिकलाई मास्कको प्रयोग, व्यक्तिगत सुरक्षाका उपायहरू अवलम्बन गर्न तथा स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ।