x

वर्तमान सरकारप्रति ओलीको आक्रोश : आतंक फिँजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्नँ भन्ने ?

११ आश्विन २०८२, शनिबार १४:१६

काठमाडौं, ११ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आतंक फिँजाएर बनेको भन्दै अरूलाई सुरक्षा दिन्न भन्ने ? भन्दै प्रश्न गरेका छन् । एमालेनिकट युवा संघले आज (शनिबार) ओली बसेको गुण्डुको भाडाको निवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचार गर्यो भनेर अफवाह फैलाईएको भन्दै आक्रोश पोखे । उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको आफूले सुनेको उल्लेख गरे ।

उनले भने,‘म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ, पासपोर्ट रोक्ने ? के ठानेको छ ? यो हा..हु’को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्ने छ । फेरि पनि हामी यो देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउँछौं ।’

सो क्रममा उनले देशलाई एमालेले मात्रै सही बाटोमा फर्काउन सक्ने दाबी गरे । देश बनाउने कुरामा एक रत्तिपनि हरेस नखान उनले पार्टी पँक्तिलाई आग्रह गरेका छन् । उनले भने,देश बनाउने एमालेले नै हो। त्यसैले तपाईँहरूले हरेस नखानुहोस्। सिङ्गो देशवासीलाई आग्रह गर्छु, सबै संयमता अपनाउनुस्। राष्ट्र जोगाउन एकता चाहिएको छ, त्यही अनुसार आग्रह गर्छु।’