x

ललितपुरमा एमाले विधान महाधिवेशन आज सकिँदै

२२ भाद्र २०८२, आईतवार ०४:११

काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशन ललितपुरको गोदावरीमा आज सम्पन्न हुँदैछ । महाधिवेशनको अन्तिम दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले जवाफ दिने कार्यतालिका रहेको छ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनसम्बन्धी प्रस्ताव पेस गरेका थिए। ती प्रतिवेदनमाथि १० वटा समूह गठन गरी विस्तृत छलफल भएको थियो।

आजकै दिन एमाले केन्द्रीय निर्वाचन आयोगमार्फत निर्वाचन गर्ने कार्यक्रम समेत तय गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरका दुई हजार २६ जना प्रतिनिधि तथा आयोजकसहित दुई हजार ३४१ जनाको सहभागिता रहेको छ।

महाधिवेशनले राजनीतिक प्रतिवेदनसँगै समसामयिक प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ।