x

रूपन्देही–३ मा राप्रपाद्वारा प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार छनोट हुने

१७ भाद्र २०८२, मंगलवार १४:२१

काठमाडौं, १७ भदौ ।** राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी कात्तिक १७ गते हुने रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) प्रक्रिया अपनाउने भएको छ।

मंगलबार बसेको पार्टीको संसदीय समितिको बैठकले प्रारम्भिक निर्वाचनमार्फत उम्मेदवार तय गर्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार, राप्रपाले हालै अघि सारेको नवीन कार्ययोजनाअनुसार यसपटक पहिलोपटक पार्टीभित्रै लोकतान्त्रिक अभ्यास स्वरूप प्रारम्भिक निर्वाचन प्रणाली अवलम्बन गर्न लागेको हो।

कसरी हुन्छ प्रारम्भिक निर्वाचन ?

राप्रपाले तय गरेको मोडलअनुसार प्रारम्भिक निर्वाचनमा पार्टीका सक्रिय सदस्य, स्थानीय तहका प्रतिनिधि तथा पार्टीका औपचारिक संरचनामा आवद्ध व्यक्तिहरूले मतदान गर्नेछन्। उम्मेदवार हुन इच्छुकले पूर्वघोषित मापदण्ड अनुसार नाम दर्ता गर्नुपर्ने र मतदाताले प्रत्यक्ष मतदानमार्फत उम्मेदवार छनोट गर्ने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले बताए।

नयाँ अभ्यासको सुरुवात

राप्रपाका अनुसार यो अभ्यासले पार्टीभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नेछ। “प्रारम्भिक निर्वाचन प्रणाली अपनाउनु हाम्रो नवीन कार्ययोजनाको मुख्य अंश हो। यसले नेतृत्व छनोटमा सदस्यहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित हुन्छ,” प्रवक्ता श्रेष्ठको भनाइ छ।