
२४ चैत्र २०८१, सोमबार ०४:४२
मेलम्ची नगरपालिका वडा नं. ६ तालामाराङमा बाढीबाट प्रभावित स्थानीय किसानहरूको आत्मनिर्भरता र आर्थिक सशक्तीकरणका लागि विशेष मौरीपालन कार्यक्रम सम्पन्न भएको छ।
Prakriti Research Center (PRC) को सहकार्य र उत्तम मार्ग साना किसान कृषि सहकारी संस्था लि. को व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा तार्केश्वर–२ का देबस्थली मौरी कृषि फर्मका सञ्चालक श्यामकृष्ण श्रेष्ठबाट ४५ वटा आधुनिक मौरीका घारहरू प्रभावित किसानहरूलाई प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष बालकृष्ण देउजाले गर्नुभयो भने प्रमुख अतिथिका रूपमा मेलम्ची नगरपालिकाकी उप–मेयर उमा प्रधानको विशेष उपस्थिति रह्यो। उप–मेयर प्रधानले मौरीपालनजस्ता साना तर प्रभावकारी उद्यमले गाउँमै वैकल्पिक आम्दानीका स्रोत खोल्ने, रोजगारी सिर्जना गर्ने तथा वातावरण संरक्षणमा समेत योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा सहकारीका पदाधिकारीहरू, स्थानीय अगुवाहरू र मौरीपालनप्रति चासो राख्ने बाढीपीडित समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संचालन सचिव भवनाथ दुलालले गर्नुभएको थियो।
स्थानीयस्तरमा आशा, आत्मविश्वास र सम्भावनाको नयाँ उज्यालो फैलाउने विश्वासका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन्।
