
१९ भाद्र २०८२, बिहीबार ०७:३३
मेलम्ची, भदौ १९ । मेलम्ची नगरपालिकाले बुढानिलकण्ठ नगरपालिकाको सफल अस्पताल सञ्चालन अनुभवबाट सिक्ने उद्देश्यसहित आयोजना गरिएको “नगर अस्पताल सम्बन्धी असल अभ्यास, ज्ञान–सीप र प्रविधि आदान–प्रदान कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले बुढानिलकण्ठ नगर अस्पतालको अनुभवलाई आधार बनाएर मेलम्ची नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन रणनीति र कार्ययोजना बनाउन मद्दत पुग्ने जानकारी दिनुभयो।
बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधिहरूले अस्पताल सञ्चालनका क्रममा भोगेका चुनौती, समाधान उपाय र आधुनिक प्रविधि प्रयोगका अनुभवहरू प्रस्तुत गर्दै मेलम्ची नगरपालिकालाई शुभकामना व्यक्त गरेका थिए।
मेलम्ची नगर प्रमुख आइतमान तामाङले अस्पताललाई दिगो बनाउन आवश्यक नीति–नियम, दक्ष जनशक्ति विकास, प्रविधि प्रयोग र सामुदायिक सहभागितामा जोड दिनुभयो। उहाँले छिट्टै सञ्चालनमा आउने मेलम्ची नगर अस्पतालको भ्रमण गर्न आमन्त्रण गर्दै “नगर अस्पताललाई समुदायमै गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्र बनाउने हाम्रो दृढता छ, बुढानिलकण्ठको अनुभव हाम्रो लागि अमूल्य मार्गदर्शन हुनेछ,” भन्नुभयो।
यसैगरी उपप्रमुख उमा प्रधानले बुढानिलकण्ठ नगर अस्पतालले स्वास्थ्य सेवा व्यवस्थापन, दक्ष जनशक्ति परिचालन, स्वास्थ्य बीमा कार्यक्रमको कार्यान्वयन तथा सर्वसुलभ सेवा विस्तारका अनुभवले मेलम्चीमा स्वास्थ्य सेवा प्रवाह सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष एवम् बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले नगर अस्पताल सञ्चालन केवल स्वास्थ्य सेवा मात्र नभई स्थानीय तहको नेतृत्व क्षमता र जनताप्रतिको उत्तरदायित्वको प्रत्यक्ष उदाहरण भएको उल्लेख गर्दै, यस्ता अनुभव आदान–प्रदान कार्यक्रमले दिगोपनासहित स्वास्थ्य सेवा सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, स्वास्थ्य शाखा प्रमुख प्रशुराम श्रेष्ठ, डा. आशिष लामिछाने, जिन्शी शाखा प्रमुख जयराम घोरसैनी, बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौला, अस्पताल निर्देशक डा. सुधांशु झासहित दुवै नगरपालिकाका अधिकारीहरूको उपस्थिति रहेको थियो।
अस्पताल निर्देशक डा. सुधांशु झाले बुढानिलकण्ठ नगर अस्पतालको परिचय, भौतिक संरचना, र सञ्चालन गतिविधिबारे विस्तृत जानकारी गराएका थिए।


