
२७ आश्विन २०८२, सोमबार १२:१८
मेलम्ची (सिन्धुपाल्चोक) — मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालको विनाशकारी मेलम्ची खोलाको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पारेको गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
कार्यक्रममा बाढीपछिका सामाजिक, सांस्कृतिक तथा मनोसामाजिक प्रभावहरू, तिनका दीर्घकालीन असरहरू, र प्रभावित समुदायको पुनर्स्थापनाका उपाय विषयमा प्रस्तुत गरिएको थियो। साथै, हानि नोक्सानीका मूल्याङ्कनलाई राज्यका नीति, योजना र स्रोत व्यवस्थापनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि अध्ययनले ठोस सुझाव दिएको छ।
अध्ययनमा संलग्न ६ जना अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै बाढीले भौतिक मात्र नभई सांस्कृतिक पहिचान, समुदायको आत्मबल, आपसी सम्बन्ध र सामूहिक स्मृतिमा गहिरो घाउ पुर्याएको निष्कर्ष प्रस्तुत गरे। उनीहरूले प्रभावग्रस्त समुदायका लागि मनोसामाजिक सहयोग र सांस्कृतिक पुनर्निर्माणलाई दीर्घकालीन पुनःस्थापना रणनीतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. २, ६ र १० का वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, प्रेम बहादुर तामाङ र अमृत खनाल, समाजसेवी तथा राजनीतिज्ञ बालकृष्ण देउजा, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागीहरूले प्राकृतिक विपत्तिबाट हुने गैर–आर्थिक क्षतिहरूलाई पनि नीतिगत मान्यता दिनुपर्ने, र त्यसका आधारमा स्थानीय, प्रादेशिक र संघीय तहमा पुनर्निर्माणको योजना बनाइनुपर्नेमा जोड दिएका थिए।
अन्त्यमा, मेलम्ची र हेलम्बुका बासिन्दाहरूले भोगेका मनोसामाजिक चुनौतीहरूलाई दीर्घकालीन दृष्टीले सम्बोधन गर्न राज्य र नागरिक समाजबीच सहकार्य अनिवार्य रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ।



