x

मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

८ भाद्र २०८२, आईतवार ०८:२६

जनकपुरधाम । मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो ।कृषिको माटो परीक्षण, पशुको रोगसम्बन्धी अनुसन्धान तथा पशुमा लाग्ने विभिन्न रोगको उपचार, पशुको गोबर तथा दूधजन्य पदार्थको परीक्षण गर्ने उद्देश्यले अत्याधुनिक उपकरणसहित ल्याब स्थापना गरेर सो केन्द्रबाट सेवा दिने उद्देश्य रहेको कार्यालय प्रमुख राजेश साहले जानकारी दिए । सबै भवनको डिजाइन समान हुनुका साथै  प्रविधियुक्त बनाइने उनले बताए ।सोही क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित  तेतरियामा सोही आयोजनाद्वारा निर्माण गरिएको सुविधा सम्पन्न भवन जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख साहले जानकारी दिए । उनका अनुसार उक्त भवन भ्याटसहित रु दुई करोड २५ लाखमा निर्माण गरिएको हो ।