x

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा डा.  सापकोटा

१६ भाद्र २०८२, सोमबार १४:३९


हेटौंडा ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।
मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएको बताउनुभयो । उहाँले डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने बताउनुभयो  ।
चितवनबासी डा. सापकोटा वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौंडा अस्पतालका नि. निर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह (MBBS) र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर (MS Orthopedics) अध्ययन पूरा गर्नुभएका डा. सापकोटा दशौं तहका चिकित्सकका रूपमा लामो समयदेखि सेवा प्रदान गर्दै आउनु भएको छ ।
नियुक्ति पश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण  बनाउन  प्रतिबद्ध रहने बताउनुभयो । सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुने उहाँको भनाई छ ।
नव नियुक्त निर्देशकले उपकुलपति डा. प्रदिप ज्ञवालीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे र डा. खगेश्वर गेलाल, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्यहरू उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्की र प्रशासन प्रमुख अमर अधिकारीलगायतको सहभागिता रहेको थियो ।