२६ मंसिर २०८२, बिहीबार १२:३३
काठमाडौै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भट्टराई र अर्यालसहित ६ जनालाई प्रतिवादी बनाएर आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । भिजिट भिषामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलेको आरोपमा उनीहरूमाथि अख्तियारले अनुसन्धान गरेको थियो। सहसचिव भट्टराईलाई गत जेठ ७ गते विमानस्थलबाटै पक्राउ गरिएको थियो । उहाँ त्यतिबेला विमानस्थल अध्यागमन प्रमुख समेत हुनुहुन्थ्यो ।
अख्तियारले सहसचिव भट्टराईसँग ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग दाबी गरेको छ । अख्तियार मुद्दा दायर भएका अन्य चार जनामा भिजिट भिषा तस्करीमा बिचौलियालगायतको भूमिकामा काम गरेकाहरु छन् ।
भिजिट भिसामा विदेश जाने नागरिकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका अधिकारीहरूले पैसा असुल्ने धन्दा लामो समयदेखि चल्दै आएको छ। प्रहरीको अनुसन्धानका आधारमा १० माघ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विमानस्थल अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध संगठित अपराध र किर्ते अभियोगमा मुद्दा दायर गरेको थियो। तर एक वर्षपछि १४ मंसिर २०८१ मा काठमाडौं जिल्ला अदालतले बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकलाई मात्रै दोषी ठहर गरेको थियो ।
