
१४ भाद्र २०८२, शनिबार ०३:०५
राष्ट्र बैंकले जारी गर्यो संशोधित सीएसआर मार्गदर्शन
काठमाडौं । अबदेखि बैंकले कमाउने नाफा केवल पूँजी बढाउन वा लाभांश बाँड्न मात्रै प्रयोग गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको संशोधित संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) व्यवस्था मार्गदर्शन–२०८२ अनुसार बैंकले वार्षिक खुद नाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोषमा अनिवार्य जम्मा गर्नुपर्नेछ ।
मार्गदर्शनले बैंकलाई नाफा कमाउने मात्र नभई समाजलाई प्रत्यक्ष फाइदा पुर्याउने जिम्मेवार साझेदार बनाउने उद्देश्य लिएको छ ।
अब बैंकले के गर्ने ?
- नाफाको १% रकम सीएसआर कोषमा राख्नुपर्नेछ।
- जम्मा रकममध्ये कम्तीमा ६०% हरेक वर्ष खर्च गर्नुपर्नेछ।
- खर्च हुने रकमको कम्तीमा १०% प्रत्येक प्रदेशमा वितरण गर्नुपर्ने प्रावधान छ।
- वार्षिक योजना बनाएर राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउनुपर्नेछ।
- खर्च विवरण बैंकको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ।
कुन क्षेत्रमा खर्च गर्न पाइन्छ ?
निर्देशनले सीएसआर खर्चलाई गरीब, विपन्न, पिछडिएका वर्ग लक्षित गर्न भनिएको छ।
मुख्य क्षेत्रहरू :
- शिक्षा: सरकारी विद्यालय सुधार, छात्रवृत्ति, डिजिटल सामग्री, रिसर्च ग्रान्ट
- स्वास्थ्य: सरकारी अस्पतालका उपकरण, नि:शुल्क उपचार सहयोग, स्वास्थ्य शिविर, अपाङ्गता भएका व्यक्तिका सामग्री
- मानवीय सहायता: विपद् प्रभावितलाई राहत, वृद्धाश्रम/अनाथालय सहयोग, पोषणयुक्त खाद्यान्न
- वातावरण: फोहोर व्यवस्थापन, सोलार/बायोग्यास जस्ता परियोजना
- वित्तीय साक्षरता: डिजिटल बैंकिङ, नगदरहित कारोबार, सीपमूलक तालिम
- दिगो विकास लक्ष्य (SDGs): संयुक्त राष्ट्रसंघले तोकेको २०१६–२०३० को एजेन्डा
- अन्य: खेलकुद, आवास, महिला तथा बालबालिकाका लागि पूर्वाधार निर्माण
कुन क्षेत्रमा खर्च गर्न पाइँदैन ?
- ब्रान्ड प्रमोशन, स्पोन्सरसिप वा मार्केटिङ अभियान
- राजनीतिक गतिविधि वा पार्टीसँग जोडिएका खर्च
- नाफामूलक वा शुल्क लिएर गरिने काम
- ठूला भौतिक पूर्वाधार आयोजना
- सञ्चालक समिति वा कर्मचारी लाभका नाममा हुने खर्च
🔗 विस्तृतमा हेर्न : नेपाल राष्ट्र बैंक परिपत्र (PDF)
