पर्थ, अस्ट्रेलियामा बसोबास गर्दै आएका सामाजिक अभियन्ता तथा युवा नेतृत्‍वकर्ता बिबेक नेपालले गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अष्ट्रेलियाको सदस्य पदका लागि आगामी कार्यकाल (२०२५–२०२७) मा उम्मेदवारी घोषणा गरेका छन्।

सिन्धुपाल्चोक, नेपाल स्थायी घर भएका नेपाल सन् २०२३ देखि २०२५ सम्म एनआरएनए टास्क फोर्समा क्रियाशील रहँदै अष्ट्रेलियाली नेपाली समुदायका विविध आवश्यकताहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी पर्थ तथा अन्य क्षेत्रका नेपालीहरूको हितका लागि निरन्तर समर्पित छन्।

उम्मेदवारी घोषणा गर्दै बिबेक नेपालले भने,
“मेरो उम्मेदवारी कुनै पदका लागि मात्र होइन, हाम्रो सम्पूर्ण नेपाली समुदायको साझा समृद्धि र उज्वल भविष्यका लागि हो। म नयाँ सोच, स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजनाका साथ समुदायमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छु।”

प्रमुख प्रतिबद्धता र योजनाहरू:

बिबेक नेपालले आगामी कार्यकालका लागि आफ्ना स्पष्ट प्राथमिकताहरू सार्वजनिक गरेका छन्:

  • अष्ट्रेलिया आएका विद्यार्थी तथा नयाँ आगन्तुकहरूलाई प्रभावकारी मार्गदर्शन र सहायता प्रदान गर्ने
  • महिला तथा युवाहरूका लागि आत्मनिर्भरता र सशक्तिकरणमा केन्द्रित नेतृत्व विकास कार्यक्रमहरू सञ्चालन गर्ने
  • मानसिक स्वास्थ्य, जीवनशैली र सामाजिक सम्बन्धमा सुधार ल्याउन सकारात्मक पहल गर्ने
  • नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि शिक्षा र समावेशी कार्यक्रमहरू विकास गर्ने
  • पारदर्शिता र सहभागितामूलक नेतृत्व अभ्यासमार्फत सबै समुदायका आवाजलाई सम्मान गर्ने वातावरण निर्माण गर्ने
  • नेपाली सम्पदा र संस्कृति प्रवर्द्धनका लागि उत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने
  • खेलकुद र मनोरञ्जनद्वारा स्वास्थ्य र सामाजिक एकता सुदृढ गर्ने योजना अघि सारेका छन्

समुदायप्रतिको प्रतिबद्धता

उहाँले अगाडि थपे,
“नेतृत्व केवल सम्मान वा पदका लागि होइन, यो गम्भीर जिम्मेवारी हो। म यो जिम्मेवारीलाई पूर्ण निष्ठा, परिश्रम र समर्पणका साथ निर्वाह गर्ने प्रतिज्ञा गर्दछु।”

बिबेक नेपालको उम्मेदवारीले पर्थ तथा सम्पूर्ण अष्ट्रेलियाली नेपाली समुदायमा नयाँ उत्साह र आशा जगाएको छ। आगामी एनआरएनए एनसिसी निर्वाचनमा उहाँको सहभागिता समुदायको समृद्धि र एकताको दिशामा महत्वपूर्ण कदम सावित हुने विश्वास गरिएको छ ।