x

बाढीले क्षतिग्रस्त वीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

२५ आश्विन २०८२, शनिबार ०४:०१

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बनाएको वीपी राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। राजमार्गका विभिन्न खण्डमा अस्थायी सडक (डाइभर्सन) निर्माण कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा वैकल्पिक बाटो तयार भएपछि यातायात सञ्चालन गर्न सकिएको हो।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार शुक्रबार साँझसम्म क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खोलिएर परीक्षण सम्पन्न भएपछि आज बिहानदेखि राजमार्गमा सवारीसाधन सञ्चालन सुरु गरिएको हो। रातिसम्म पनि निरन्तर काम जारी राखिएकाले बिहानैदेखि राजमार्ग सञ्चालन सम्भव भएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्मका ठाउँमा डाइभर्सन तयार गरिएको छ। चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्ती क्षेत्रमा गरी १९ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको उनले बताए।

राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण गरी शुक्रबार अपराह्न ट्रयाक खोलिएको थियो। रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गरेपछि मङ्गलबारदेखि अस्थायी सडक निर्माण सुरु गरिएको थियो।

इञ्जिनियर योगेशका अनुसार करिब दुई दर्जन मेसिन परिचालन गरी बिहीबार रातिसम्म निरन्तर काम गरिएको थियो। बाढीपहिरोका कारण राजमार्गका १७ स्थानमा क्षति पुगेको थियो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त स्थानको स्थलगत अवलोकन गर्दै कामलाई तीव्र बनाउन निर्देशन दिएका थिए। उनले राति पनि काम गरेर शुक्रबार बेलुकासम्म राजमार्ग सञ्चालनयोग्य बनाउने लक्ष्य राख्न आदेश दिएका थिए।

पूर्वी नेपाललाई जोड्ने छोटो दूरीको मुख्य मार्गका रूपमा रहेको वीपी राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्दछ। स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्काको प्रक्रिया अघि बढाइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाए छ ।