x

बलेफी गाउँपालिकाद्वारा राजधानीमै राष्ट्रिय परिचयपत्र वितरण

२७ मंसिर २०८२, शुक्रबार ०१:५५

काठमाडौँ। राजधानी काठमाडौँमा बसोवास गर्दै आएका बलेफी गाउँपालिकाका नागरिकलाई लक्षित गर्दै गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण सेवा राजधानीमै सुरु गरेको छ। गाउँपालिकाले मंसिर २२ गतेदेखि भक्तपुर थिमिमा रहेको थिमी व्याङ्क्वेट मार्फत परिचयपत्र वितरण गरिरहेको हो।

गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङका अनुसार वडागत रूपमै परिचयपत्र वितरणको शुल्करहित सेवा सञ्चालन गरिएको छ।
वितरण तालिका यस्तो छः

  • मंसिर २२ — वडा नं. १ र २
  • मंसिर २३ — वडा नं. ३ र ४
  • मंसिर २४ — वडा नं. ५ र ६
  • मंसिर २५ — वडा नं. ७ र ८
  • मंसिर २६ — सबै वडाका छुटेका नागरिकका लागि विशेष वितरण

गाउँपालिका पञ्जिकरण शाखा प्रमुख पूर्वा तामाङका अनुसार मंसिर २५ गतेसम्म करिब ५ सय नागरिकलाई परिचयपत्र वितरण भइसकेको छ। वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुलीले २०८० बैशाखसम्म जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा गाउँपालिकाका आठै वडामा फोटो खिचाएका सबै नागरिकका परिचयपत्र तयार भई वितरण गरिएको जानकारी दिनुभयो।

राजधानीमै बसोवास गर्ने नागरिकलाई गाउँपालिका धाउनुपर्नेजस्तो झन्झट हटाउन थिमी व्याङ्क्वेटबाट सेवा प्रदान गरिएको पराजुलीले बताउनुभयो। “राजधानीमै बस्ने नागरिकले राजधानीमै सेवा पाउन सकून् भनेर यो व्यवस्था गरिएको हो,” उहाँले भन्नुभयो।

यस्तै, वडा नं. ७ का अध्यक्ष गृविन्द्र चौलागाईले मंसिर २५ गतेसम्म सबै वडाको वितरण कार्य पूरा भइसकेको बताउँदै छुटेका नागरिकलाई मंसिर २६ गते अनिवार्य रूपमा उपस्थित हुन आग्रह गर्नुभयो। वडा नं. ८ का अध्यक्ष रमेश श्रेष्ठले नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन स्थानीय सरकारले अधिकतम लचकता अपनाइरहेको उल्लेख गर्नुभयो।

गाउँपालिकाले परिचयपत्र नलिएका सबै नागरिकलाई मिति २०८२ मंसिर २६ गते थिमी व्याङ्क्वेटमा उपस्थित भई आफ्नो राष्ट्रिय परिचयपत्र बुझ्न पुनः आग्रह गरेको छ।