
५ कार्तिक २०८२, मंगलवार १५:४१
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जेनजी (Gen Z) पुस्तासँग संवादमा बस्न र तोकिएकै समयमा चुनावतिर अघि बढ्न आग्रह गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दलहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले भनिन्, “सरकार भयरहित वातावरणमा तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध छ। त्यसका लागि मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिरहेका छौँ।”
उहाँले संवादमा ढिलाइ हुनुको कारणसमेत स्पष्ट पार्दै हालसम्म सरकार घाइतेहरूको उपचार, सहिदका शव व्यवस्थापन, परिवारका लागि राहत वितरण तथा आन्दोलनकारी पक्षका माग र आवाज सुन्ने कार्यमा व्यस्त रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले राजनीतिक स्थायित्वका लागि सबै दलले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै भनिन्, “देशको भविष्य नयाँ पुस्तासँग जोडिएको छ, त्यसैले जेनजी युवासँग संवाद र सहकार्य आवश्यक छ।”
