x

प्रधानमन्त्री ओली : “मलाई जे भए पनि सहन्छु, तर राष्ट्रलाई हेपिएको सहँदिन”

२२ भाद्र २०८२, आईतवार ११:५३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई व्यक्तिगत रूपमा जे–जस्तो आलोचना भए पनि राष्ट्रको सम्मानमा भने सम्झौता नगर्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा आइतबार सुरु भएको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “मलाई जतिसुकै हेप्नुस्, त्यस्तो कुरा सहन्छु। तर, देशलाई हेपिएको सहन सक्दिन।”

उनले हालै सरकारले अवैध रूपमा सञ्चालन भइरहेका, दर्ता नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई लिएर उठेका आलोचनाको जवाफ पनि दिएका थिए। “एक वर्षदेखि भनिरहेका छौँ– नेपालको कानुनअनुसार सामाजिक सञ्जाल दर्ता गर्नुपर्छ। तर उल्टै संविधान थाहा छैन भनेर अटेरी गर्ने? यो राष्ट्रलाई हेप्ने कुरा हो,” ओलीले प्रश्न गरे।

सामाजिक सञ्जाल बन्द गर्दा केही व्यक्तिको रोजगारीमा असर पर्न सक्ने जनाइएको प्रसंगमा ओलीले भने, “४ जनाको जागिर ठूलो कि राष्ट्रिय स्वाभिमान ठूलो? यस्तो जागिरको विकल्प हामी सिर्जना गर्छौँ।”

उनले कानुन र राष्ट्रिय स्वाभिमानमाथि अटेरी गर्ने प्रवृत्ति अब सहन नहुने स्पष्ट पार्दै राजनीतिक दलहरूलाई समेत यस्तो विषयमा निरिहता नदेखाउन आग्रह गरे।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको व्यवस्थित प्रयोगका लागि कानुनी दायराभित्र ल्याउन सरकार दृढ रहेको उल्लेख गरे।