
८ भाद्र २०८२, आईतवार १२:१०
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्न उत्पादन संघर्षको महत्व औंल्याएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौं भने यसको मूल आधार उत्पादन हो। उत्पादन संघर्षमा सिँगो पार्टी केन्द्रित नभइ समाजवाद सम्भव छैन।”
अध्यक्ष प्रचण्डले कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर भएको बताए र त्यसलाई तत्काल सच्याउनुपर्ने बताए। उनले पार्टीका सबै सदस्यलाई सोच र शैलीमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए।
उहाँले हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै अब पार्टीले समुदायमा फर्केर उत्पादनलाई प्राथमिकतामा राख्ने अभियान चलाउने बताए।
अध्यक्ष प्रचण्डले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादको भ्रूण हुने बताए र सहकारी आन्दोलनलाई पनि जनमुखी तथा समाजवादी मार्गमा अघि बढाउन जोड दिए।
पार्टी उपाध्यक्ष बहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा प्रस्तुत गरे भने केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे।
