x

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकसहित ५ जनाको पासपोर्ट रोक्का

१२ आश्विन २०८२, आईतवार १४:०३

समाचार

काठमाडाैं ।
सरकारले जेनजी आन्दोलनलाई दमन गर्ने क्रममा भूमिका निर्वाह गरेको आरोप लागेका तत्कालीन उच्च पदाधिकारीहरूलाई विदेश जान रोक लगाएको छ। जाँचबुझ आयोगको सिफारिसमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का राख्दै उनीहरूलाई उपत्यका छाड्न समेत प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

विदेश भ्रमणमा रोक लगाइएकामध्ये पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको जाँचबुझ आयोगले आवश्यक पर्दा बयानका लागि उनीहरूलाई उपस्थित गराउनुपर्ने भएकाले रोक लगाउन सिफारिस गरेको थियो। आयोगको दाबीअनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले सडकमा कम प्रहरी देखाउन निर्देशन दिएका थिए, जसका कारण सुरक्षा व्यवस्था फितलो बनेको हो।

भीड नियन्त्रणका लागि आवश्यक प्रहरी तैनाथ नगरी संसद भवनमा केन्द्रित गरिएको थियो। त्यस्तै, आन्दोलनको असरबारे सही पूर्वानुमान गर्न नसकेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी र गुप्तचर विभागका प्रमुखलाई पनि अनुसन्धानको पहिलो घेरामा राखिएको छ।

जेनजी आन्दोलनको पहिलो दिन मात्र १९ जनाको मृत्यु भएको थियो भने हालसम्म मृत्यु हुनेको संख्या ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयौं घाइते अझै पनि काठमाडाैं उपत्यकासहितका विभिन्न अस्पतालमा उपचाररत छन्।