
१४ भाद्र २०८२, शनिबार ०२:३८
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा आवेदन खुला भएको छ। प्राधिकरणका लागि अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार विज्ञापन प्रकाशित गर्दै इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको हो।
बीमा ऐन, २०७९ को दफा ८ (१) बमोजिम तोकिएका योग्यता पूरा गरेका उम्मेदवारले सात दिनभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसअघि १५ दिनको समय दिइने प्रचलन रहेकोमा यसपटक अवधि घटाएर सात दिन मात्र तोकिएको हो।
स्नातकोत्तर तह उत्तीर्ण भई कम्तीमा पाँच वर्ष उच्च व्यवस्थापकीय अनुभव हासिल गरेका, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिहरूले आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र विज्ञ डा. खोमराज खरेल सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो। सोही समितिले अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो।
