नेपाली कांग्रेस मेलम्ची कार्यसमितिद्वारा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र सांस्कृतिक कार्यक्रम सम्पन्न

१ बैशाख २०८२, सोमबार १३:१९

मेलम्ची, सिन्धुपाल्चोक । नेपाली कांग्रेस मेलम्ची कार्यसमितिले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ भन्ने मूल नारासहित नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मेलम्ची नगरपालिका–३ मा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले मेलम्ची क्षेत्रको विकासका लागि कम्तीमा तीन करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाउँदै, “पहिला संगठन बनाउन मान्छे पुग्दैन थिए, अहिले एउटै घरमा संगठन पुग्छ,” भन्दै कांग्रेसले बोलेको कुरा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।
बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङले भित्तेपात्रो विमोचन गर्दै, “पात्रो घर–घरमा झुन्डिएपछि कांग्रेस त्यहीँ छ भन्ने अनुभूति हुन्छ,” भन्दै विगतको अनुभवबाट सिकेर अगाडि बढ्नुपर्ने विचार राखे।
कार्यक्रमका विशेष अतिथि मेलम्ची नगर प्रमुख आईतमान तामाङले जिम्मेवारी लिएपछि त्यसलाई पूरा गर्नु आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनले नगरपालिकाले भवन, सिँचाइलगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिरहेको जानकारी दिँदै अब कांग्रेसको झण्डा १३ वटै वडामा फर्फरिने विश्वास व्यक्त गरे।

कार्यक्रममा बागमती प्रदेश सदस्य कुमार दुलाल, मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, महासमिति सदस्य सविता गुरुङ र क्षेत्र नं. २ संगठन विभाग प्रमुख फडेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन निश्चल गिरीले गरेका थिए भने कार्यक्रममा ५०० भन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रममा नगर सभापति बसन्त गुरुङले नयाँ वर्षको शुभकामना दिंदै समापन घोषणा गरेका थिए।