
१७ भाद्र २०८२, मंगलवार १४:४३
काठमाडौं । चीनसँग जोडिएका दुई प्रमुख व्यापारिक नाका—तातोपानी र रसुवागढी—बन्द भएपछि यस वर्षको दशैंमा पर्याप्त सामान आयात हुन नसकेको व्यापारीहरूले बताएका छन्। असार २४ गते आएको बाढी र त्यसपछिको लगातार वर्षाका कारण दुवै नाका दुई महिनादेखि ठप्प रहेका हुन्।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार, चालू आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब ४७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो। तर साउन र भदौ महिनामा २ अर्ब ४४ करोड संकलन गर्ने लक्ष्यमध्ये मुस्किलले १ अर्ब ४७ करोड रुपैयाँ मात्र राजश्व उठाउन सकेको छ।
उनले बाढीले सडक भत्किएकाले ठूला मालबाहक गाडी नआएको र लगातारको वर्षाका कारण अस्थायी रुपमा सुचारु गर्न खोजिएका मार्गहरू समेत पटक–पटक अवरुद्ध भएको बताए। “लत्ता कपडाजस्ता सामग्री आयात गर्न नसकिएको गुनासो व्यापारीहरूले गरेका छन्,” उनले भने।
कतिपय व्यापारीहरू भने दशैं नजिकिँदै गर्दा तरकारी तथा फलफूलजस्ता नाशिन सक्ने सामानहरू बोकेर वा भरियाको सहायतामा भन्सार पार गर्न थालेका छन्।
रसुवागढी नाकासमेत करिब डेढ महिनादेखि पूर्णरूपमा बन्द छ। चालु आर्थिक वर्षमा करिब ४० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएको रसुवा भन्सार कार्यालयले पछिल्ला दुई महिनामा नगण्य मात्र राजश्व संकलन भएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी रविन्द्रप्रसाद प्याकुरेलका अनुसार, मितेरी पुलमा पानीको बहाब बढिरहेकाले बेलिब्रिज निर्माणमा ढिलाइ भइरहेको छ। दशैंअघि नाका सुचारु हुने सम्भावना कम रहेको उनले बताए।
व्यापारीहरूले दुवै नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्दै आएका छन्। नाका बन्द हुँदा आयातमा मात्र नभई बजार आपूर्ति र राजश्व संकलनमा समेत ठूलो असर परेको सरोकारवालाहरूको भनाइ छ।