जुगलमा एमालेको भब्य सभासरकारको काम थप प्रभावकारि हुने ः प्रवक्ता गुरुङको भनाइ

२७ चैत्र २०८१, बिहीबार ०१:१४

विदुर आचार्य, सिन्धुपाल्चोक –
नेकपा (एमाले) का उपमहासचिव तथा सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले जनताको सेवामा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार जुगल गाउँपालिकाको ढाँडेमा आयोजित एमाले जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्घाटन गर्दै नेता गुरुङले जनताको काममा ढिलाइ नहुने स्पष्ट पार्नुभयो।

“अब कुनै पनि सरकारी निकायमा पुगेको फाइल एक साताभित्र टुंग्याउने सुनिश्चितता दिन्छौं,” मन्त्री गुरुङले भन्नुभयो, “सरकार समृद्धिको मार्गमा अगाडि बढिरहेको छ र नागरिकको प्रतिव्यक्ति आय वृद्धि गर्न निरन्तर काम गरिरहेको छ।”

उहाँले राजतन्त्रले जनताको सुरक्षामा असफल भएको उल्लेख गर्दै अब नेपालमा राजतन्त्रको पुनरागमन सम्भव नभएको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा एमालेका विभिन्न केन्द्रीय नेताहरुले समेत सम्बोधन गरेका थिए। एमाले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपालले देशको विकास र समृद्धिका लागि एमाले अपरिहार्य शक्ति भएको बताउँदै पार्टीलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले विकास विरोधी र तानाशाही प्रवृत्तिको प्रतिवाद गर्न जनतालाई आग्रह गर्नुभयो।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सुभाष कर्माचार्य, नेता अमानसिं तामाङ, र जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायतका नेताहरुले समेत कार्यक्रमलाई सम्बोधन गरेका थिए।

एमाले जुगल गाउँपालिका कमिटी अध्यक्ष छिरिङ लामाले अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने जानकारी दिनुभयो। भव्य रूपमा सम्पन्न उद्घाटन कार्यक्रमले जुगलमा राजनीतिक उत्साह थप बलियो बनाएको देखिएको छ।