
१४ भाद्र २०८२, शनिबार ०२:४६
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले साढे १९ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा कम्पनीहरूले कुल १९ अर्ब ६५ करोड ३३ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार साउन महिनामा मात्र २ लाख ८४ हजार १७६ वटा बीमालेख जारी भएको छ । यसमध्ये नयाँ व्यवसायबाट ३ अर्ब २७ करोड २४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरिएको छ भने नविकरणमार्फत १६ अर्ब ३८ करोड ८ लाख रुपैयाँ संकलन गरिएको छ ।
नेपाल लाइफ अगाडि
व्यापारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रह्यो । कम्पनीले एकै महिनामा ६ अर्ब १९ करोड २५ लाख ६९ हजार रुपैयाँ संकलन गरेको छ । यस अवधिमा कम्पनीले ७५ हजार ९५३ बीमालेख बिक्री गरेको थियो । नेपाल लाइफले साउनमा १ अर्ब ३ करोड ९० लाख रुपैयाँ नयाँ व्यवसाय र ५ अर्ब १५ करोड ३४ लाख रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
दोस्रो नेसन लाइफ
यसपछि नेसन लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रह्यो । कम्पनीले साउनमा २ अर्ब ४१ करोड ४५ लाख ३६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । यसमध्ये ४२ करोड ३७ लाख रुपैयाँ नयाँ व्यवसाय र १ अर्ब ९९ करोड ७ लाख रुपैयाँ नविकरणबाट संकलन भएको छ । कम्पनीले २७ हजार ३७१ बीमालेख जारी गरेको छ ।
तेस्रो एलआइसी नेपाल
तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) रह्यो । कम्पनीले २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यस अवधिमा ४ हजार ११२ बीमालेख जारी भएका थिए । एलआइसीले २१ करोड ३५ लाख रुपैयाँ नयाँ व्यवसाय र १ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
चौथो हिमालयन लाइफ
हिमालयन लाइफ चौथो स्थानमा रह्यो । कम्पनीले साउनमा २ अर्ब २ करोड ८१ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सो अवधिमा ४ हजार १७८ बीमालेख जारी गर्दै २३ करोड ८० लाख ६६ हजार रुपैयाँ नयाँ व्यवसाय र १ अर्ब ७९ करोड १ लाख रुपैयाँ नविकरण शुल्क संकलन गरेको छ ।
अन्य कम्पनीहरूको स्थिति
साउनमा सूर्यज्योतिले १ अर्ब २४ करोड ५२ लाख, एशियन लाइफले ९४ करोड ८६ लाख, सिटिजनले ८५ करोड ६४ लाख, सानिमा रिलायन्सले ८१ करोड ९५ लाख, आइएमई लाइफले ६७ करोड ५ लाख, प्रभू महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख, रिलायबल नेपालले ५८ करोड १७ लाख र मेट लाइफले ५३ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ संकलन गरेका छन् ।

