काठमाडौं, १७ चैत — आज बिहान पक्राउ परेका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन्।

अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट पक्राउ गरेको थियो। रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरिएको हो। पक्राउको कारण र उनीमाथि लागेका आरोपबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।