११ भाद्र २०८२, बुधबार १३:४२
काठमाडौं । गायक तथा गीतकार पदम दुलालको नयाँ गीत ‘ए मेरो बाबा, ए मेरी आमा’ युट्युबमार्फत सार्वजनिक भएको छ।
बाबु–आमाप्रतिको माया, सम्झना र कृतज्ञताको भाव बोकेको यस गीतले सबै उमेर समूहका श्रोता–दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ।
गीतमा स्वर र शब्द स्वयम् पदम दुलालले दिएका छन् भने, संगीतमा बिनोद ढकाल र एरेन्जमा कृष्ण लमिछानेको योगदान रहेको छ। गीतलाई हृदयस्पर्शी बनाउने उद्देश्यले विशेष ध्यानसहित संगीत संयोजन गरिएको छ।
यसअघि पनि पदम दुलालले समाज र जीवनसँग जोडिएका विभिन्न चर्चित गीतहरू बजारमा ल्याइसकेका छन्। विशेषगरी ‘मेलम्ची को दाइ’भन्ने लोकप्रिय गीतमार्फत उनले गाउँ–घर र सहरका श्रोताको मन जितिसकेका थिए। दुलालका गीतहरूमा पारिवारिक माया, संस्कार, जीवनयात्रा र सामाजिक सन्देश झल्किने गरेको पाइन्छ।
‘ए मेरो बाबा, ए मेरी आमा’ गीतलाई लिएर गायक दुलालले भने, “यो गीत मैले आफ्ना मात्र नभई सबै आमाबुबा सम्झँदै गाएको हुँ। हाम्रा जीवनका असली नायक नै आमाबुबा हुनुहुन्छ, जसलाई हामीले जीवनभर सम्मान र सम्झनु पर्छ भन्ने सन्देश दिन खोजेको छु।”
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि दर्शक–श्रोताले सकारात्मक प्रतिक्रिया दिन थालेका छन्।
यो गीत गायक पदम दुलालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
