
८ भाद्र २०८२, आईतवार १२:०४
काठमाडौँ : नेपालमा आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव शून्य तीन प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र भए पनि दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य वृद्धि बढी देखिएको छ।
राष्ट्र बैंकका तथ्याङ्क अनुसार, अघिल्लो आवको तुलनामा खाद्य तथा पेयपदार्थ समूहमा विशेषगरी तरकारी उपसमूहको मूल्य १० दशमलव ७१, घ्यू तथा तेल ८ दशमलव ७२, दाल तथा गेडागुडी ७ दशमलव ९० र खाद्यजन्य पदार्थ ६ दशमलव १३ प्रतिशतले बढेको छ। भने, मरमसला उपसमूहको मूल्य २ दशमलव ६२ र माछा तथा मासु ० दशमलव ३४ प्रतिशतले घटेको देखिएको छ।
गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाहरूको मूल्य ९ दशमलव ३९, कपडा तथा जुत्ता ६ दशमलव ०९, मदिरा ५ दशमलव ६५, फर्निसिङ तथा घरायसी उपकरण ४ दशमलव ७८ र सुर्तीजन्य पदार्थ ४ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ।
गत आवमा खाद्य तथा पेय पदार्थ समूहको औसत मुद्रास्फीति ४ दशमलव ६९ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको ६ दशमलव ४७ प्रतिशत भन्दा उच्च हो। गैरखाद्य तथा सेवा समूहको औसत मुद्रास्फीति ३ दशमलव ७१ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको ४ दशमलव ६४ प्रतिशतभन्दा कम छ।
क्षेत्रगत रूपमा, काठमाडौँ उपत्यकामा मुद्रास्फीति ३ दशमलव ७७, तराई ४ दशमलव १४, पहाड ३ दशमलव ८६ र हिमाल ४ दशमलव ८९ प्रतिशत रहेको छ। ग्रामीण क्षेत्रमा वार्षिक औसत मूल्य सूचकाङ्क ४ दशमलव ४० र सहरी क्षेत्रमा ३ दशमलव ९४ प्रतिशतले बढेको छ।
प्रदेश अनुसार कोशी प्रदेशमा मुद्रास्फीति ५ दशमलव ४६, मधेश ४ दशमलव १४, बागमती ३ दशमलव ५७, गण्डकी ३ दशमलव ३२, लुम्बिनी ३ दशमलव ७०, कर्णाली ३ दशमलव ३१ र सुदूरपश्चिम ५ दशमलव ०२ प्रतिशत रहेको छ।
