काठमाडौँ । हालै सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले औपचारिक रूपमा सपथ ग्रहण गरेका छन्। यसपटक संसदमा करिब ९० प्रतिशत नयाँ अनुहार प्रवेश गरेका छन्, जसले पहिलो पटक जिम्मेवारी सम्हाल्दै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दै १८२ सांसदसहित संसदमा बलियो उपस्थिति जनाएको छ। उक्त दलमा पनि नयाँ जनप्रतिनिधिको बाहुल्यता देखिएको छ। संख्यात्मक रूपमा प्रतिपक्ष कमजोर देखिए पनि युवा सांसदहरूले रचनात्मक भूमिका खेल्ने बताएका छन्।

यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी मा पनि नयाँ अनुहारहरूको उल्लेखनीय उपस्थिति छ। उनीहरूले उत्साहका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन्।

नयाँ भए पनि अधिकांश सांसद योग्यता, विज्ञता र अनुभवका आधारमा सक्षम रहेको बताइएको छ। केही पार्टीका भातृसंस्थाबाट खारिएका छन् भने केही आफ्नो पेशागत क्षेत्रमा दक्षता हासिल गरेर राजनीतिमा प्रवेश गरेका हुन्।

संसदमा मधेशदेखि कर्णालीसम्मका क्षेत्रको प्रतिनिधित्व भएको छ। सांसदहरूले स्थानीय तथा राष्ट्रिय मुद्दामा सक्रिय भूमिका खेल्ने बताएका छन्।

नयाँ सांसदहरूले पारदर्शिता, सुशासन र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिने बताएका छन्।

अब सांसदहरूले कानुन निर्माण, सरकारको निगरानी तथा जनताको मुद्दा उठाउने जिम्मेवारी कसरी निर्वाह गर्छन् भन्ने विषय निकट भविष्यमा स्पष्ट हुने अपेक्षा गरिएको छ।