काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शैया जनरल अस्पताल सञ्चालनका लागि परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरेको छ।

यससँगै अस्पताललाई १०० शैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्ने बाटो खुलेको छ। यस निर्णयले स्थानीय तहमै गुणस्तरीय, सहज तथा प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्ने योजनालाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

नगर प्रमुख उपेन्द्र कार्कीले मन्त्रालयबाट IEE प्रतिवेदन स्वीकृत हुनु नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले यो सफलता सम्पूर्ण सरोकारवाला निकाय, जनप्रतिनिधि, प्राविधिक टोली तथा अस्पताल परिवारको समन्वय, सहकार्य र निरन्तर प्रयासको प्रतिफल भएको उल्लेख गरे।

उनका अनुसार अब अस्पतालको पूर्वाधार तथा सेवा विस्तारलाई तीव्रता दिँदै स्थानीय नागरिकलाई अझ प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी अघि बढाइनेछ।

नगर प्रमुख कार्कीले यस उपलब्धिमा साथ, सहयोग र योगदान पुर्‍याउने सबै महानुभावहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।