x

कांग्रेसले युवामाथि रोक लगाउन खोज्यो : अध्यक्ष निमा

२६ मंसिर २०८२, बिहीबार १२:२०

हेलम्बु । नेपाली कांग्रेसका नेता तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसभित्र युवाहरूलाई चुनावमा प्रतिस्पर्धा गर्न नदिई लोकतान्त्रिक अधिकार अवरुद्ध गर्न खोजिएको आरोप लगाएका छन्।

उनका अनुसार कुनै पनि नियम–कानुनले युवालगायत इच्छुक व्यक्तिहरूलाई चुनाव लड्न रोक्ने प्रावधान छैन। “लोकतन्त्रमा चुनाव लड्नु सबैको अधिकार हो, कसैले रोक्न सक्दैन,” अध्यक्ष शेर्पाले बताएका छन्। पार्टीभित्रैबाट युवामाथि रोकथाम गर्ने मनोमानी चरित्र देखिनु दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ।

शेर्पाले यदि चुनावमा रोक्ने नै हो भने समान मापदण्ड सबै तहमा लागू हुनुपर्ने बताए। “समान नियम सबै संघीय, प्रदेश र स्थानीय तहका पदाधिकारिहरूलाई लाग्नुपर्छ। केही व्यक्तिलाई मात्र रोक्ने चलन अब स्वीकार्य हुँदैन,” उनले भने।

पार्टीले जोसुकै निर्णय गरे पनि आफू लोकतान्त्रिक अधिकारका पक्षमा अडिग रहने उल्लेख गर्दै उनले आगामी चुनावमा आफू पछि नहट्ने स्पष्ट संकेत दिएका छन्।

उनले गाउँपालिका वा प्रदेशका ‘बहाल रहेकाहरू’ चुनाव लड्न नपाउने भन्ने कुनै कानुनी प्रावधान नै नभएको प्रश्न समेत उठाएका छन्।