एमाले बाग्मतीको दुई दिने प्रचार कार्यशाला भक्तपुरमा सुरु

२३ जेष्ठ २०८२, बिहीबार १४:४२

दिपक विक्रम देउजा
काठमाडौं, जेठ २२ — नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा आयोजित दुई दिने प्रचार कार्यशाला आजदेखि भक्तपुरको डोलेश्वर रिसोर्टमा सुरु भएको छ। उक्त कार्यशाला जेठ २२ र २३ गतेसम्म सञ्चालन हुनेछ।

कार्यशालाको उद्घाटन पार्टी महासचिव शंकर पोखरेलले गर्नुभयो। उद्घाटन सत्रमा पोखरेलले प्रचार र सूचना प्रवाह पार्टी संगठनको बलियो आधार भएको उल्लेख गर्दै कार्यकर्ताहरूलाई अद्यावधिक जानकारीसहित सुसूचित हुन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “जसले प्रचारको नेतृत्व गर्छ, उसले विषयमा प्रष्ट हुनुका साथै पार्टी नीति र निर्णयबारे गहिरो समझ राख्नु पर्छ।”

वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाका अनुसार कार्यशालामा प्रदेश र जिल्लास्तरीय प्रचार विभागका प्रमुखहरू, प्रेस चौतारी नेपाल वाग्मती कमिटीका प्रतिनिधिहरू, जनसंगठनका प्रचार प्रमुखहरू लगायतको सहभागिता रहेको छ।

महासचिव पोखरेलले हाल एमाले विरुद्ध चार प्रकारका शक्तिहरू नियोजित रुपमा लागिरहेको बताउँदै ती शक्तिहरूमा राजावादी, कथित कम्युनिस्ट दलहरू, सामाजिक सञ्जालमा सक्रिय झुन्ड, र देशी–विदेशी शक्तिहरू रहेको उल्लेख गर्नुभयो। उहाँले सामाजिक सञ्जाललाई “सूचनाको महामार्ग” भनेर वर्णन गर्दै सत्य र तथ्यमा आधारित प्रचारलाई बल दिनुपर्नेमा जोड दिनुभयो।

कार्यशालामा संचार तथा सूचना प्रविधि मन्त्री तथा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पत्रकारिता क्षेत्र स्वनियमनमा चल्नु पर्ने बताउँदै यस क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त हुन आग्रह गर्नुभयो। उहाँले लोकतान्त्रिक शासनमा पत्रकारिता सत्ता खबरदारीको स्वतन्त्र अंग भए पनि उत्तरदायी र संयमित हुनुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, वाग्मती प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य राजन भट्टराईले पार्टीभित्र जिम्मेवारी लिने तर कार्यक्रममा सहभागी नहुने प्रवृत्तिबाट पार्टीलाई जोगाउनु पर्ने भन्दै यस्ता कार्यकर्तालाई जिम्मेवारीबाट हटाउन निर्देशन दिनुभयो।

पार्टी केन्द्रीय सदस्य विष्णु रिजाले सामाजिक सञ्जाललाई प्रभावकारी राजनीतिक संवादको प्लेटफर्मको रूपमा प्रयोग गर्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले देशभक्ति र राष्ट्रियताप्रतिको प्रतिबद्धता एमालेमाथि हुने आलोचनाको मुख्य कारण भएको पनि बताउनुभयो।

कार्यशालामा वरिष्ठ पत्रकार मात्रिका पौडेलले सञ्चारमाध्यमले एजेन्डा सेट गरेर काम गर्दा प्रभावकारी परिणाम दिन सक्ने उल्लेख गर्नुभयो।

कार्यशालाले वाग्मती प्रदेशको प्रचार नीति तय गर्नुका साथै जिल्लास्तरका प्रचार गतिविधिको समीक्षा र आगामी योजनाको खाका कोर्न मद्दत गर्ने लक्ष्य राखिएको छ।