
८ भाद्र २०८२, आईतवार ०८:१३
जुम्ला । नेकपा (एमाले) को सिद्धान्त, विचार, नीति, कार्यक्रम, व्यवहार र नेतृत्व सही सावित हुँदै गएकै कारण पार्टी आम नेपाली जनताको भरोसा र रोजाइको दल बन्न सफल भएको एमालेले दाबी गरेको छ ।
पार्टी भित्रै कतिपय व्यक्तिहरू दक्षिणपन्थी अवसरवाद, महत्वाकांक्षा, पदलोभ तथा व्यक्तिगत स्वार्थमा लिप्त हुँदा बेला–बेला पार्टीलाई नोक्सानी खेप्नु परेको एमाले नेताहरूको भनाइ छ । त्यस्ता व्यक्तिगत प्रवृत्तिका कारण पटक–पटक फुट र विभाजनको पीडा समेत पार्टीले भोग्नुपरेको तथ्य सर्वविदित रहेको उनीहरूको तर्क छ ।
एमालेका अनुसार फुट र विभाजन क्षणिक समयका लागि पार्टी र देश दुवैलाई नोक्सान पुर्याउने भए पनि दीर्घकालीन हिसाबले त्यसले कहिल्यै सत्य सावित हुन सकेको छैन । विभाजनलाई गलत कदम ठहरिने क्रम अहिले पनि पुष्टि भइरहेकाले पार्टी भित्रै आन्तरिक लोकतन्त्र सुदृढीकरणका लागि विद्रोह गर्नु र अलगै भएर छुट्टिनुमा ठूलो भिन्नता हुने स्पष्ट भएको उनीहरूले बताएका छन् ।
हिजो शीर्ष तहमा पुगेका कतिपय नेताहरू पनि विभाजनको बहकाउमा परेर बाहिरिए तर अहिलेका उनीहरूकै अभिव्यक्तिबाट पार्टी फुटाउनु गलत थियो भन्ने प्रमाणित भइरहेको एमालेको दाबी छ । “बनेको पक्की घर भत्काएर प्वाल परेको टिनको छानामुनि बस्न खोज्नु जस्तो विभाजन कदापि उचित थिएन,” नेताहरूले बताएका छन् ।
हाल विभिन्न कारणले बाहिरिएका हजारौं कार्यकर्ता पुनः एमालेमा फर्केर पार्टी अभियानमा सक्रिय भइसकेका छन् । यो क्रम देशव्यापी रूपमा जारी रहेको र यसलाई पार्टी तथा समग्र कार्यकर्ताका लागि सकारात्मक पक्षका रूपमा लिइएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न हाल राष्ट्रिय शक्तिको रूपमा स्थापित एमालेलाई अझ बलियो राष्ट्रिय शक्ति बनाउनु अपरिहार्य रहेको एमालेले जनाएको छ । त्यसका लागि वडा स्तरदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी र जनताको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
त्यस्तै, एमालेलाई अझ सुदृढ बनाउन तथा अन्य वामपन्थी शक्ति र व्यक्तिलाई पार्टीमा समाहित गर्न विशेष ध्यान दिनुपर्नेमा पनि पार्टीले जोड दिएको छ ।
