
१४ भाद्र २०८२, शनिबार ०३:०९
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एकै महिना साढे ४ अर्बको व्यवसाय भित्र्याएका छन् ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो अर्थात् साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा ठुला निर्जीवन बीमा कम्पनीले ४ अर्ब ३१ करोड ८४ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले २ लाख १५ हजार २८५ वटा बीमालेख बिक्रीबाट सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
व्यवसायको आकारका आधारमा साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) पहिलो सूचीमा छ । कम्पनीले एकै महिना ४५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । साउनमा सलिकोले २१ हजार १५१ वटा बीमालेख बिक्री गरेको छ ।
दोस्रो सूचीमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ४१ करोड ७९ लाख ७४ हजार रुपैयाँ बरारबको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पनि एकै महिना २२ हजार ५०३ वटा बीमालेख बिक्री गरेको हो ।
तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनीले पनि साउनमा ४१ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । शिखरले साउनमा २५ हजार २३७ वटा बीमालेख बिक्री गरेको देखिन्छ ।
यस्तै, ओरियण्टलले ४१ करोड ३७ लाख २३ हजार रुपैयाँ, हिमालयन एभरेष्टले ३६ करोड ५२ लाख ४५ हजार, एनएलजीले ३४ करोड ३१ लाख २० हजार, आइजीआई प्रुडेन्सियलले ३३ करोड ८१ लाख ९० हजार, नेकोको ३२ करोड १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले साउनमा क्रमश: ३ हजार ८७९, २१ हजार ७५७, १५ हजार ७५८, १५ हजार ९४३ र २१ हजार ६९३ वटा बीमालेख बिक्री गरेका छन् ।
साउनमा युनाईटड अजोडले पनि २९ करोड ६७ लाख, नेपाल इन्स्योरेन्सले २३ करोड ६ लाख, सानिमा जिआइसीले २२ करोड ३६ लाख, नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख, राष्ट्रिय बीमा कम्पनीले १६करोड २७ लाख र प्रभू इन्स्योरेन्सले १२ करोड ७१ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
