
२९ आश्विन २०८२, बुधबार ०८:२६
२८ असोज, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) लाई पुनः पार्टी एकताका लागि एमालेमै फर्किन आह्वान गरेका छन्।
बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय एकता र सहकार्यका लागि वामपन्थी शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए।
उनका अनुसार अहिलेको राजनीतिक अवस्थामा संगठन बलियो बनाउन सबै वामपन्थी दलहरूबीच एकता अपरिहार्य छ। ओलीले भने, “कसैका चौतारीमा छिर्न नजानुहोस्, यो मजबुत घर हो—यहाँ आउनुहोस्। लाखौं कार्यकर्ता भएको पार्टी हो, अन्यत्र बास खोज्दै नहिँड्नुहोस्।”
अध्यक्ष ओलीले एकीकृत समाजवादी मात्र नभई अन्य दलहरूलाई पनि राष्ट्रिय हितका लागि सहकार्य र एकताको मार्गमा आउन आग्रह गरे।
राजनीतिक विश्लेषकहरूले ओलीको यो भनाइलाई हाल माओवादी र एकीकृत समाजवादीबीच चलिरहेको एकता छलफलप्रतिको प्रतिक्रिया र वाम पुनर्गठनको संकेतका रूपमा व्याख्या गरेका छन्।
