उत्सवसँग संवाद’ नयाँ वर्षको दिनबाट सुरु हुँदै — विचार र संवादको नयाँ यात्रा

३० चैत्र २०८१, आईतवार ११:४०

‘नयाँ वर्षको अवसरमा गम्भीर, विचारशील र समसामयिक संवादमा केन्द्रित नयाँ पोडकास्ट श्रृंखला ‘उत्सवसँग संवाद (Conversations with Utsav)’ सोमबारबाट सार्वजनिक हुँदैछ। यो श्रृंखला अडियो तथा भिडियो दुवै माध्यमबाट सार्वजनिक गरिने तयारीमा छ।
एचिभर्स मिडिया नेटवर्क (Achievers Media Network) युट्युब च्यानल मार्फत सार्वजनिक हुँदैछ ।

मनोरञ्जन, राजनीति, स्वास्थ्य, समाज र जीवनशैलीजस्ता विविध विषयमा आधारित यो पोडकास्टले अर्थपूर्ण र प्रभावशाली संवादमार्फत दर्शक तथा श्रोतामाझ नयाँ दृष्टिकोण प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

यस पोडकास्टका प्रस्तोता हुन् उत्सव बनियाँ, जो यसअघि हिमशिखर टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिसकेका अनुभवी सञ्चारकर्मी हुन्। अब उनले आफ्ना अनुभवलाई डिजिटल माध्यममा विस्तार गर्दै व्यापक श्रोतावर्गमा पुग्ने प्रयास थालेका छन्।

‘उत्सवसँग संवाद’ ले विचार आदानप्रदानलाई प्राथमिकता दिनेछ र फरक पृष्ठभूमिका व्यक्तित्वहरूसँग खुला र गहिरो संवाद गर्नेछ। एचिभर्स मिडिया नेटवर्कले यो श्रृंखलामार्फत आफ्नो डिजिटल उपस्थिति थप बलियो बनाउँदै छ।

नयाँ सुरुवात, नयाँ शैली, र विचारको नयाँ आवाज — ‘उत्सवसँग संवाद’ यही नयाँ वर्षको दिनबाट सुरु हुँदैछ।