इन्द्रावती गाउँपालिकामा चौथो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुने

२ बैशाख २०८२, मंगलवार ०५:१३

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिकाको आयोजनामा चौथो अध्यक्ष कप खुल्ला शिल्ड फुटबल प्रतियोगिता २०८२ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै प्रतियोगिता सफल बनाउन खेलप्रेमी, स्थानीयवासी र सरोकारवाला सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

गाउँपालिकाको वडा नं. ५ स्थित खेल मैदानमा हुने प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया बैशाख १५ गतेसम्म खुला गरिनेछ। एक वडा एक टिमका आधारमा टिम दर्ता गर्न सकिनेछ भने प्रत्येक टिमले प्रवेश शुल्कसहित नाम दर्ता गर्नुपर्नेछ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रू. १,००,०००, दोस्रो हुनेलाई रू. ६०,००० र तृतीय तथा चतुर्थ हुने टिमलाई रू. ४०,००० र रू. २०,००० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

खेल ११/११ जना खेलाडीबीच ३५/३५ मिनेटको दुई हाफमा खेलाइनेछ। निर्णायकको निर्णय अन्तिम हुने जनाइएको छ। प्रतियोगिता सञ्चालनका क्रममा कुनै समस्या परेमा खेल समिति र आयोजकले आवश्यक निर्णय लिनेछन्।

इन्द्रावती गाउँपालिकाले यस प्रतियोगिता खेल क्षेत्रको विकास तथा युवाहरुमा खेलप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरेको हो ।