x

इन्द्रावतीका किसान व्यवसायीक कागती खेतीतर्फ आकर्षित

३० आश्विन २०८२, बिहीबार १४:५०

रविन दनुवार
३० असोज, सिन्धुपाल्चोक।

इन्द्रावती गाउँपालिकाका किसानहरू पछिल्लो समय व्यवसायीक कागती खेतीतर्फ आकर्षित भएका छन्। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको पहलमा बागमती प्रदेशको कृषि विकास निर्देशनालयअन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना मार्फत यो कार्यक्रम सञ्चालनमा आएको हो।

परियोजनामार्फत हाल ७ जना किसानले कागती खेतीएक किसानले मेकाडेमिया नट खेती गर्नका लागि सम्झौता गरेका छन्।

पालिका अध्यक्ष नेपालका अनुसार, किसानहरूले ५० प्रतिशत साझेदारीमा परियोजनाबाट व्यवसायीक काष्ठफल तथा फलफूल खेती गर्न सक्ने व्यवस्था गरिएको छ। कृषि क्षेत्रलाई व्यवसायीक रूपमा विकास गर्दै किसानको आम्दानी बढाउने उद्देश्यले यो परियोजना पालिकामा भित्र्याउन सफल भएको उहाँले बताउनुभयो।

परियोजनाको लक्ष्य अनुसार पालिकाभित्र एक सय हेक्टरमा काष्ठफल खेती विस्तार गर्ने योजना रहेको छ। व्यक्तिगत कृषि फार्म, कृषक समूह र कृषि सहकारीमार्फत किसानहरूले २० रोपनी जमिनमा साझेदारी खेती गर्न सक्ने परियोजनाका कृषक सहजकर्ता सुजन सापकोटाले जानकारी दिनुभयो।

सापकोटाका अनुसार, सम्झौता गरेका ८ किसानमध्ये केहीले खेती सुरु गरिसकेका छन् भने केही तयारीमा छन्। परियोजनाले आगामी पाँच वर्षभित्र एक गाउँपालिकामा सय हेक्टर जमिनमा व्यवसायीक काष्ठफल तथा फलफूल खेती गर्ने लक्ष्य लिएको छ।

उहाँले कृषि शाखाबाट वार्षिक रूपमा आवेदन खुल्ने भएकाले इच्छुक किसानहरूलाई परियोजनाबाट लाभ लिन आग्रह गर्नुभयो।