
३० आश्विन २०८२, बिहीबार ०९:२५
असोज ३०
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा करिब १२ सय किसान दुग्ध अनुदान कार्यक्रममार्फत लाभान्वित भएका छन् । गाउँपालिकाले प्रति लिटर ४ रुपैयाँका दरले दुध उत्पादनमा प्रोत्साहनस्वरूप किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।
पालिका अध्यक्ष झम्क नाथ नेपालका अनुसार दुध उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको हो । उनले किसानलाई दुध उत्पादनतर्फ आकर्षित गर्न पालिकाले निरन्तर सहयोग गरिरहेको बताए ।
दुग्ध अनुदान कार्यक्रमअन्तर्गत पालिकाले विभिन्न संघ–संस्थासँग साझेदारीमा ७ वटा चिलिङ भ्याट (दुध संकलन तथा प्रशोधन केन्द्र) स्थापना गरेको पनि बताइएको छ ।
पशु सेवा प्राविधिक विज्ञान दाहालका अनुसार उत्पादनको आधारमा किसानले अनुदान प्राप्त गर्दै आएका छन् र यसले दुध उत्पादनमा उल्लेख्य वृद्धि गरेको देखिएको छ ।
प्रारम्भिक तथ्यांकका अनुसार दुग्ध उत्पादनमा किसानको लगनशीलता र सहभागिता बढ्दै गएको पाइन्छ, जसले इन्द्रावती गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा अघि बढाएको छ ।

