
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका नेताहरू पार्टीको नेतृत्व तहमा प्रभावशाली रूपमा देखिएका छन्।
कांग्रेसको ‘राजनीतिक नर्सरी’का रूपमा चिनिने नेविसंघका पूर्वमहामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापा सभापति बन्ने निश्चित भएसँगै विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू पार्टीको पदाधिकारी तहमा समेत निर्णायक भूमिकामा पुग्ने भएका हुन्।
निर्वाचन समितिका अनुसार नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा सर्वसम्मत चयन भएका छन्। सभापति पदका उम्मेदवार रहेका नेविसंघकै पूर्वअध्यक्ष किशोरसिंह राठौरले थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।
उपसभापति पदमा पनि नेविसंघ पृष्ठभूमिका नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। पूर्वअध्यक्ष धनराज गुरुङ, गोविन्द भट्टराई र रञ्जीत कर्ण उपसभापति पदका उम्मेदवार छन्। गुरुङ र भट्टराई खुलातर्फ तथा कर्ण समावेशीतर्फ प्रतिस्पर्धामा छन्।
कर्णले नेविसंघको लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण गरेका थिए। उनी थापाकै समकालीन विद्यार्थी नेता हुन्।
त्यस्तै, नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर महामन्त्री पदको प्रतिस्पर्धामा छन्। पूर्वअध्यक्ष राजीव ढुंगाना सहमहामन्त्री पदका उम्मेदवार छन्।
विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री बनेका घिमिरे र पौडेल विद्यार्थी राजनीतिदेखि नै पार्टीभित्र वैचारिक र बौद्धिक नेताका रूपमा स्थापित छन्।
विद्यार्थी तथा तरुण राजनीतिबाट पार्टीको मूलधारमा आएका नेताहरूको उल्लेख्य उपस्थितिले कांग्रेसको नयाँ नेतृत्व संरचनामा पुस्तान्तरणसँगै संगठनात्मक अनुभवको संयोजन देखिएको छ।
उपसभापति पदका उम्मेदवार रञ्जीत कर्णले विद्यार्थी र तरुण राजनीतिबाट आएका नेताहरूको सहभागिताले पार्टी रूपान्तरणलाई गति दिने दाबी गरेका छन्। उनका अनुसार राजनीतिक आन्दोलनमा सक्रिय भएर आएका नेताहरूलाई नेतृत्वमा समेट्दा कांग्रेसले नयाँ कार्यदिशा निर्माण गर्न सक्नेछ।
पूर्वसहमहामन्त्री राजीव ढुंगानाले पनि विद्यार्थी राजनीतिबाट पार्टीको मूल प्रवाहमा आएका नेताहरूले पार्टी सञ्चालनको अनुभव र क्षमता राख्ने बताएका छन्। अग्रज र समकालीन नेताबीचको समन्वयबाट कांग्रेसलाई नयाँ मार्गचित्रका साथ अघि बढाउन सकिने उनको भनाइ छ।
नेविसंघ र नेपाल तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका अन्य नेताहरू पनि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्पर्धामा छन्। यसले १५औँ महाधिवेशनमा विद्यार्थी तथा युवा राजनीतिबाट आएका नेताहरूको प्रभाव उल्लेख्य रूपमा बढेको देखाएको छ।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार तय गरिएको मतदान स्थगित भएको छ। निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने नयाँ समय निर्धारण गरेको छ।
यसअघि बिहान १० बजेका लागि तोकिएको मतदान समय तीनपटक परिवर्तन गरी दिउँसो साढे २ बजे पुर्याइएको थियो। तर निर्धारित समयमा समेत मतदान सुरु हुन नसकेपछि निर्वाचन शुक्रबारका लागि सारिएको हो।






