
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकपछि संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि उल्लंघन गर्ने जोकोहीलाई विधानअनुसार कारबाहीको दायरामा ल्याइने बताउनुभएको हो।
संयोजक गुरुङका अनुसार गत आमनिर्वाचनका क्रममा पार्टीभित्र भएको अनुशासन उल्लंघन तथा अन्तर्घातसम्बन्धी विभिन्न जिल्लाबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन्। ती उजुरीमाथि गम्भीरतापूर्वक छानबिन भइरहेको र अधिकांश उजुरी किनारा लगाउने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो।
पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको गुरुङले बताउनुभयो।
समितिले हालै भएका केही गतिविधिप्रति समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विशेषगरी डा. शशांक कोइरालाको संयोजकत्वमा भएको भनिएको एक भेलामा पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेट राखेर स्वागत गरिएको विषयमा समितिले प्रश्न उठाएको छ।
गुरुङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको उल्लेख गर्दै नक्कली लेटरप्याडको प्रयोग तथा पार्टीको मर्यादाविपरीत हुने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
अनुशासन समितिले आफूलाई विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत आधिकारिकता प्राप्त भएको दाबी गर्दै पार्टी विधानको धारा १७ (२) बमोजिम काम गरिरहेको जनाएको छ।
पार्टी हितका लागि आयोजना गरिने भेला तथा सम्मेलनमा कुनै बन्देज नरहे पनि पार्टीकै विरुद्ध हुने गतिविधिमाथि भने कडा निगरानी राखिने समितिले स्पष्ट पारेको छ।
काठमाडाैं । राष्ट्रिय सभा सदस्य एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले वर्तमान सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिएपनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दावी गर्नुभएकाे हाे। उहाँले नयाँ शक्ति र वर्तमान सरकारले निर्वाचनकाे समयमा गरेका प्रतिवद्धताहरू केवल प्रचारबाजीमा सीमित भएको टिप्पणी गर्नुभयो । सांसद विश्वकर्माले सरकारको कार्यकालमा मानवअधिकार र संविधानको उल्लङ्घनका घटना बढेको उल्लेख गर्नुएकाे छ।
सांसद विश्वकर्माले ११ जना सुकुम्बासीको मृत्यु, ५ जना युवाको आत्मदाह र जनताको उठिबास हुनुलाई ‘नयाँ सुशासन’ को संज्ञा दिँदै व्यङ्ग्य गर्नुभयो । उहाँले देशको अर्थतन्त्र धराशायी बनेको र मुख्य सूचक मानिने शेयर बजारको अवस्था निकै चिन्ताजनक रहेको बताउनुभएकाे छ। लगानीकर्तामा विश्वास जगाउन नसक्दा पूँजी पलायन शुरु भएको र यसले रोजगारी तथा राजश्वमा गम्भीर धक्का पुग्ने उहाँको भनाइ थियाे ।
सांसद विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै देश प्रधानमन्त्री र उहाँको सचिवालयको सामाजिक सञ्जाल (स्ट्याटस) को भरमा चलेको टिप्पणी गर्नुभएकाे छ। सरकार सदन र जनताप्रति उत्तरदायी हुनुपर्नेमा कुनै निश्चित प्रभुप्रति उत्तरदायी देखिएको उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्री शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउन तयार नभएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री स्वयं असफल भइसकेको दावी समेत गर्नुभएकाे छ।
काठमाडौँ । निजी भ्रमणका लागि निस्किनुभएका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पोखरा पुग्नुभएको छ।
प्रधानमन्त्री शाह काठमाडौंबाट सडकमार्ग हुँदै शुक्रबार दिउँसो पोखरा पुग्नुभएको हो। उहाँ शुक्रबार राति कास्कीको माछापुच्छ्रे गाउँपालिका–स्थित आस्तमको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको बताइएको छ।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै रिसोर्ट र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। रिसोर्टमा अन्य पाहुनाको बुकिङ रद्द गर्नुका साथै कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाइएको बताइएको छ।
प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रमअनुसार पोखरा पुग्नुभएको बताइएको छ। यद्यपि मुस्ताङ भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिएको छैन। उहाँले प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने बुझिएको छ।
मुस्ताङमा पनि प्रधानमन्त्रीको भ्रमणबारे सुरक्षा निकायलाई औपचारिक जानकारी गराइएको छैन। सञ्चारमाध्यममा आएका सूचनाका आधारमा भने सुरक्षा व्यवस्थापनको तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभएको छ।
प्रधानमन्त्री बनेपछि शाह पहिलो पटक निजी भ्रमणमा निस्किनुभएको हो।





