
काठमाडौँ — बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन्। नेपालका २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साउनको तुलनामा भदौमा व्यक्तिगत तथा संस्थागत दुवै तर्फको औसत ब्याजदर घटेको छ।
भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतबाट ०.०३१५ प्रतिशतविन्दुले घटेर ४.१३६ प्रतिशत कायम भएको छ। त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा झरेको छ।
यी हुन् ब्याजदर घटाउने ५ बैंक
भदौ महिनाका लागि ५ वटा बैंकहरूले ब्याजदरमा कटौती गरेका छन्:
सिद्धार्थ बैंक: व्यक्तिगततर्फ ०.२९ प्रतिशत र संस्थागततर्फ ०.२ प्रतिशत घटेर नयाँ दर क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम भएको छ।
नेपाल बैंक: व्यक्तिगतमा ०.१ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशत घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रतिशत कायम गरिएको छ।
सिटिजन्स बैंक: व्यक्तिगत ब्याजदर ३.८५ प्रतिशत कायम।
कुमारी बैंक: व्यक्तिगत ब्याजदर ३.७६ प्रतिशत कायम।
स्ट्याण्डर्ड चार्टर्ड बैंक: व्यक्तिगत ब्याजदर ३.८ प्रतिशत कायम।
१५ बैंकको ब्याजदर स्थिर
नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य, र ग्लोबल आइएमई बैंकसहित १५ वटा बैंकहरूले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
कर्जाको मागमा आएको सुस्तता र बैंकहरूमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी रहेकाले निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदर घटाउने रणनीतिलाई नै निरन्तरता दिएका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न 



सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले कम्तीमा २५–३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनुभयो।
उहाँले शिक्षा ऐन निर्माणअघि नै देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर स्थानीय सरोकारवालासँग संवाद सुरु गरिएको बताउनुभयो।
विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज जनकपुरमा कार्यक्रम हुँदैछ। अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिनेछ।



















uकाठमाडौँ। महिलाहरूलाई चुलोचौकाको घरायसी दायराबाट बाहिर निकालेर अन्तर्राष्ट्रिय खेल मैदानसम्म पुर्याउने उद्देश्यका साथ क्याच एन्ड सर्भ बल नेपालको प्रथम राष्ट्रिय भेला तथा मनास्लु महिला क्षमता विकास केन्द्रको प्रथम वार्षिक साधारण सभा–२०८३ सम्पन्न भएको छ।
‘खेलमा समानता र स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ साउन ३० गते राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा जनप्रतिनिधि, खेलकुद पदाधिकारी तथा महिला अधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
महिला सशक्तीकरण र नेतृत्व विकासको नयाँ माध्यम
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राष्ट्रिय सभा सदस्य डा. अन्जन शाक्यले खेलकुद महिलाको शारीरिक र मानसिक स्वास्थ्य सुधारका साथै आत्मविश्वास बढाउने सशक्त माध्यम भएको बताउनुभयो। नेपालमा नयाँ खेलका रूपमा प्रवेश पाएको क्याच एन्ड सर्भ बललाई देशका कुनाकाप्चासम्म पुर्याउन राज्यका सम्बन्धित निकाय र स्थानीय तहले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यस्तै, विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलालाई अवसर र सहभागिता दिलाउन सके उनीहरूले खेल क्षेत्रका साथै सामाजिक र राजनीतिक नेतृत्वमा समेत उत्कृष्ट प्रदर्शन गर्न सक्ने दाबी गर्नुभयो।
जनजाति महासंघका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमन्त्री निमा लामाले खेलकुदलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक रूपान्तरणको औजार बनाउनुपर्ने धारणा राख्नुभयो।
इजरायलबाट भित्रिएको खेल, नेपालभर विस्तार गर्ने लक्ष्य
इजरायल तथा युरोपेली देशहरूमा अत्यन्तै लोकप्रिय रहेको यो खेल वैदेशिक रोजगारीका क्रममा इजरायल पुगेका नेपाली महिलाहरूले करिब तीन–चार वर्षअघि नेपाल भित्र्याएका हुन्।
मनास्लु महिला क्षमता विकास केन्द्रकी अध्यक्ष कादम्बरी दाना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले वर्षभरि गरेका उपलब्धि र आगामी रणनीतिक योजना प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रशिक्षक (कोच) पेम्बा डोल्मा लामाले संस्थाको प्रगति विवरण र चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निरु गुरुङले गर्नुभएको थियो।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी कार्यवाहक प्रमुख साननानी लामा, शंखरापुरकी उपप्रमुख समिता श्रेष्ठ, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका निवर्तमान प्रमुख कृष्णगोपाल तामाङ तथा राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव टंकलाल घिसिङलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
संस्थाले आगामी दिनमा यस खेललाई देशभरका स्थानीय तहसम्म पुर्याउँदै महिला सशक्तीकरणको अभियानलाई अझ व्यापक र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




