
सिन्धुपाल्चोकस्थित ऐसेलुखर्क माध्यमिक विद्यालयमा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कृषि प्राविधिक धारसमेत सञ्चालित यस विद्यालयमा विद्यार्थीहरूमा कृषि कर्मप्रति विश्वास र रुचि जगाउने उद्देश्यले विशेष शैलीमा वृक्षरोपण गरिएको छ। कार्यक्रममा कृषि विषय अध्ययनरत विद्यार्थीहरूकै नामबाट बिरुवा रोपिएको छ भने ती बिरुवाहरूको नियमित हेरचाह र संरक्षण गर्ने पूर्ण जिम्मेवारी सम्बन्धित विद्यार्थीलाई नै दिइएको छ।
वृक्षरोपणका क्रममा विद्यालय हाताभित्र कागती, वडहर, तेजपत्ता र रुद्राक्षलगायतका विभिन्न उपयोगी प्रजातिका बिरुवाहरू रोपिएका छन्।
इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सामाजिक व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका लागि आवश्यक बिरुवाहरू विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका स्थानीय रामप्रसाद गौतम र कृषि उद्यमी तोयानाथ पौडेलले निःशुल्क रूपमा उपलब्ध गराउनुभएको थियो।
बिरुवा रोपेर मात्र नपुग्ने भएकाले तिनको संरक्षण र गोडमेलमा निरन्तर ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। आफ्नै नाममा रोपिएका बिरुवाको संरक्षण आफैँले गर्नुपर्ने भएपछि विद्यार्थीहरूमा वातावरण संरक्षण र व्यावहारिक कृषि शिक्षाप्रतिको चेतना अझ अभिवृद्धि हुने अपेक्षा गरिएको छ।







सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा स्थानीय महिलाहरूलाई साडी वितरण गरिएको छ। शुक्रबार पुष्प गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच २०० जना महिलालाई साडी वितरण गरिएको हो।
इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशिनाथ आचार्यले कार्यक्रमका सहभागी महिलाहरूलाई साडी हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान र सामाजिक सहभागिता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। महिलाहरूको सशक्तीकरणबिना समाजको समग्र विकास असम्भव रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि महिला लक्षित, उनीहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका विभिन्न उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय महिला तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा साडी पाएपछि स्थानीय महिलाहरूले खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका थिए।











सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ स्थित पुष्प गंगा माध्यमिक विद्यालयमा आज महिलाहरूलाई साडी वितरण कार्यक्रम आयोजना हुँदैछ।
इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यका अनुसार स्थानीय महिलाहरूलाई लक्षित गरी २०० थान साडी वितरण गर्न लागिएको हो।
वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले साडी वितरण गर्न लागिएको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय महिला तथा जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले व्यवसाय विस्तारसँगै नाफा, बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा उल्लेख्य वृद्धि गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ। अघिल्लो वर्ष ईपीएस ७ रुपैयाँ ५३ पैसा थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतभन्दा बढीले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क गत आर्थिक वर्षमा बढेर ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ।
यस्तै, लगानी, कर्जा तथा अन्य स्रोतबाट प्राप्त आय भने ४.४६ प्रतिशतले घटेर १ अर्ब ५० करोड ६५ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो आय १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ थियो। कम्पनीको कुल आम्दानी भने बढेर ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमा कोषमा करिब ३० प्रतिशत वृद्धि भएको छ। अघिल्लो वर्ष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत आर्थिक वर्षमा बढेर २५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल सम्पत्ति पनि बढेको छ। अघिल्लो वर्ष २६ अर्ब ५७ करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ३२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा र सोल्भेन्सी अनुपात १.५७ रहेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ छ।
यस अवधिमा महाविपत्ति कोष १४ करोड ७८ लाख रुपैयाँबाट बढेर १८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। भने जगेडा कोष ५३ करोड २७ लाख रुपैयाँबाट घटेर ३५ करोड ९८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
समग्रमा, बीमाशुल्क आर्जन, जीवन बीमा कोष, कुल सम्पत्ति तथा खुद नाफामा भएको वृद्धिले सानिमा रिलायन्स लाइफको व्यवसाय विस्तार र वित्तीय अवस्थामा सुधार देखिएको छ।



