२०८३ कार्तिक ४ मंगलवार
२०८३ कार्तिक ४ मंगलवार

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट खस–आर्य कोटातर्फ महाधिवेशन प्रतिनिधि पदमा रुपक धितालले उम्मेदवारी दिने भएका छन्।
२०४० सालमा जन्मिएका धितालले सिद्धि गणेश माध्यमिक विद्यालय, सानो सिरुवारीबाट प्राथमिक शिक्षा हासिल गरेका हुन्। उनी २०५२ सालमा नेपाल विद्यार्थी संघको इकाई सभापतिको जिम्मेवारी सम्हाल्दै कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका धिताल हाल नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सदस्य छन्। उनी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सल्लाहकार समितिका सचिवसमेत हुन्।
धितालको पारिवारिक पृष्ठभूमि पनि कांग्रेसको राजनीतिक आन्दोलनसँग जोडिएको छ। उनका पिता रविनाथ धिताल राजनीतिक आन्दोलनमा सक्रिय रहेका थिए। २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित माननीय चन्द्रलाल श्रेष्ठलाई निर्वाचित गराउन रविनाथ धितालले सक्रिय भूमिका निर्वाह गरेको पारिवारिक पृष्ठभूमि रहेको धितालले बताएका छन्।
लामो समयदेखि पार्टीको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका धितालले यसपटक खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

काठमाडौं । भोटेकोशी बाढीपछि दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको उपभोक्ताहरूले गुनासो गरिरहेका बेला काठमाडौँ जिल्ला उद्योग वाणिज्य संघले बजारको मूल्य अवस्थाबारे अध्ययन सार्वजनिक गरेको छ।

संघले गत वर्षको असोज १ गते र यस वर्षको असोज १ गतेको मूल्य तुलना गर्दै काठमाडौं उपत्यकामा ४९ प्रकारका दैनिक उपभोग्य वस्तुको अध्ययन गरेको जनाएको छ।

अध्ययनअनुसार २४ वस्तुको मूल्य बढेको, १४ वस्तुको मूल्य स्थिर रहेको र ११ वस्तुको मूल्य घटेको पाइएको छ। संघले समग्र बजारमा चर्चा भएजस्तो अस्वाभाविक मूल्यवृद्धि नदेखिएको दाबी गरेको छ।

संघका अनुसार २०८२ असोज १ गतेको तुलनामा २०८३ असोज १ गतेको बजार मूल्य अध्ययन गर्दा समग्र मूल्यवृद्धि अत्यधिक नरहेको देखिएको हो।

कुन–कुन वस्तुको मूल्य बढ्यो?

अध्ययनअनुसार धनियाँको दाना प्रतिकिलो २४० रुपैयाँबाट बढेर ३९० रुपैयाँ पुगेको छ। त्यस्तै धनियाँ पाउडर ३०० बाट ४५० रुपैयाँ, सूर्यमुखी तेल प्रतिलिटर २४५ बाट ३१५ रुपैयाँ र भटमासको तेल २४५ बाट ३०० रुपैयाँ पुगेको छ।

काँचो बदाम प्रतिकिलो २२० बाट २६० रुपैयाँ र बेसार पाउडर ४५० बाट ५२५ रुपैयाँ पुगेको संघले जनाएको छ।

यस्तै, डाल्डा घ्यू प्रतिकिलो २५० बाट २९० रुपैयाँ, लङ्ग ग्रेन बासमती चामल १७० बाट १९५ रुपैयाँ र ताइचिन चिउरा १७० बाट १९० रुपैयाँ पुगेको छ।

भुटेको तोरीको तेल प्रतिलिटर ४१० बाट ४६० रुपैयाँ तथा काँचो तोरीको तेल ३६० बाट ४०० रुपैयाँ पुगेको अध्ययनले देखाएको छ।

केही दाल तथा खाद्यान्नको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सानो चना १४५ बाट १५० रुपैयाँ, सेतो केराउ १३५ बाट १४० रुपैयाँ र ज्वानो ५५० बाट ५५५ रुपैयाँ पुगेको छ।

केही वस्तुको मूल्य घट्यो

अध्ययनले केही दैनिक उपभोग्य वस्तुको मूल्य भने घटेको पनि देखाएको छ।

नेपाली घ्यू प्रतिलिटर १ हजार ४ सय रुपैयाँबाट घटेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ। सानो केराउ २८० बाट २५० रुपैयाँ, मस्यौरा २०० बाट १८० रुपैयाँ र तराई ताइचिन चिउरा १०० बाट ९० रुपैयाँमा झरेको छ।

त्यस्तै सेतो सिमी २५० बाट २४० रुपैयाँ, जिरा पाउडर ८०० बाट ७७५ रुपैयाँ र रहरको दाल २२५ बाट २२० रुपैयाँमा झरेको संघले जनाएको छ।

राजमा प्रतिकिलो २६५ बाट २५० रुपैयाँ, मस्याङ १७० बाट १६० रुपैयाँ, आटा ८० बाट ७५ रुपैयाँ र मकैको पीठो ९० बाट ८५ रुपैयाँमा झरेको अध्ययनमा उल्लेख छ।

केही वस्तुको मूल्य यथावत्

केही खाद्यवस्तुको मूल्य भने एक वर्षको अवधिमा परिवर्तन नभएको पाइएको छ।

त्रिशूलीको पोखरेली चामल प्रतिकिलो १२० रुपैयाँ र स्टिम सोना चामल ७५ रुपैयाँमा स्थिर रहेको छ।

त्यस्तै चना दाल १७० रुपैयाँ, खुर्सानी पाउडर ६०० रुपैयाँ, कालो भटमास २५० रुपैयाँ, कैलो तिल ३५० रुपैयाँ र सेतो तिल ३५० रुपैयाँमा स्थिर रहेको संघले जनाएको छ।

गहुँ ७० रुपैयाँ, जौ १३० रुपैयाँ, सुजी १३० रुपैयाँ, मसिनो चामलको पिठो १७५ रुपैयाँ, बेसन २४० रुपैयाँ र मेथी २०० रुपैयाँ प्रतिकिलोमा स्थिर रहेको अध्ययनको निष्कर्ष छ।

बोडी प्रतिकिलो १७० रुपैयाँ र मकै ६० रुपैयाँमा स्थिर रहेको पाइएको छ।

संघको अध्ययनले केही वस्तुको मूल्य उल्लेख्य रूपमा बढेको देखाए पनि धेरै वस्तुको मूल्य स्थिर वा घटेको समेत देखाएको छ। यसले भोटेकोशी बाढीपछि बजारमा व्यापक मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको अनुभव र समग्र बजार मूल्यबीच फरक अवस्था रहेको देखाएको छ। बजारमा वास्तविक मूल्य अवस्था बुझ्न नियमित अनुगमन र वस्तुगत तथ्यांक आवश्यक देखिन्छ।

काठमाडौं । यस वर्षको दसैंमा सर्वसाधारणले विगतका वर्षमा पाउँदै आएका दुईवटा सरकारी सुविधा नपाउने भएका छन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैं लक्षित खसी–च्याङ्ग्रा बिक्री नगर्ने भएको छ भने नेपाल राष्ट्र बैंकले पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण नगर्ने तयारी गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अघिल्लो वर्षदेखि नै दसैंमा खसी तथा च्याङ्ग्रा बिक्री कार्यक्रम सञ्चालन गरेको छैन। यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता नदिइने भएको हो।

सरकारी सहुलियतमा खसी–च्याङ्ग्रा बिक्री नहुँदा दसैंको समयमा बजारमा मूल्य नियन्त्रण चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ। सरकारी बिक्री केन्द्रको अभावमा निजी व्यवसायी तथा बिचौलियाको प्रभाव बढ्न सक्ने र आपूर्ति व्यवस्थामा समस्या आए मूल्य बढ्न सक्ने चिन्ता छ।

यद्यपि, स्वदेशी किसानले उत्पादन गरेका खसी–च्याङ्ग्राले बजारमा उचित मूल्य पाउने अवसर बढ्न सक्ने अनुमान पनि गरिएको छ। बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सरकारले प्रभावकारी अनुगमन र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने सरोकारवालाहरूको धारणा छ।

नयाँ नोट पनि नपाइने

यसैगरी, नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। यससम्बन्धी औपचारिक जानकारी राष्ट्र बैंकले चाँडै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

राष्ट्र बैंकले मुलुकका विभिन्न क्षेत्रमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गर्न लागेको जनाएको छ।

विपद्का कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको, धेरै नागरिक प्रभावित तथा विस्थापित भएको र पुनःस्थापनाका लागि ठूलो वित्तीय स्रोत आवश्यक पर्ने अवस्था रहेको राष्ट्र बैंकको निष्कर्ष छ।

त्यसैगरी, विपद्को प्रभाव बैंकिङ क्षेत्रका ऋणी, व्यवसायी तथा समग्र अर्थतन्त्रमा समेत परेको भन्दै त्यसको मूल्यांकन भइरहेको राष्ट्र बैंकले जनाएको छ। सरकारको विपद्पछिको आवश्यकताको पूर्ण मूल्यांकन प्रतिवेदनसमेत आउन बाँकी रहेको अवस्थामा नयाँ नोट बजारमा पठाउनुभन्दा अन्य प्राथमिकतामा स्रोत परिचालन गर्नुपर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो।

यससँगै यस वर्षको दसैंमा विगतका वर्षमा जस्तो सरकारी सहुलियतको खसी–च्याङ्ग्रा र नयाँ नोट वितरण दुवै नहुने भएको छ। यस्तो अवस्थामा बजारमा मूल्यवृद्धि नियन्त्रण, आपूर्ति सहजता र उपभोक्ता हित संरक्षणका लागि सरकारी निकायको अनुगमन अझ महत्वपूर्ण हुने देखिएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्नुभएकाे छ । राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन उहाँ अमेरिकातर्फ प्रस्थान गर्नुभएकाे हाे ।

भीभीआईपी टर्मिनल प्रयोग नगरी उहाँले त्यसतर्फ लाग्नुभएकाे हाे । उहाँ कतार एअरवेयजमा दोहा ट्रान्जिट हुँदै न्युयोर्क पुग्नेछन् ।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने तालिका छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा विकास बैंकहरूले कुल ६५ करोड ७९ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १७ विकास बैंकले साउन मसान्तसम्म उक्त नाफा कमाएका हुन्। यद्यपि, यो रकम गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ५.२० प्रतिशत कम हो। गत वर्षको साउनमा विकास बैंकहरूले कुल ६९ करोड ४० लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएका थिए।

समीक्षा अवधिमा ९ वटा विकास बैंकको नाफा बढेको छ भने ८ वटा बैंकको नाफा घटेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्तता र खराब कर्जाको दबाबबीच पनि विकास बैंकहरूको समग्र नाफा ६५ करोड रुपैयाँभन्दा माथि कायम भएको हो।

मुक्तिनाथको नाफा सबैभन्दा धेरै

साउनमा सबैभन्दा धेरै खुद नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक अगाडि रहेको छ। बैंकले १३ करोड ३३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ। तर, गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा १५.२० प्रतिशतले घटेको छ।

त्यस्तै, गरिमा विकास बैंकले १२ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष साउनमा १३ करोड ३९ लाख ७० हजार रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ४.५४ प्रतिशतले घटेको हो।

यता महालक्ष्मी विकास बैंकले भने नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले साउन मसान्तसम्म १० करोड ८२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ६ करोड ६ लाख ३० हजार रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ७८.५९ प्रतिशतले बढेको हो।

कुन बैंकले कति नाफा कमाए?

साउन मसान्तसम्म कामना सेवा विकास बैंकले ९ करोड ९९ लाख ५० हजार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ करोड ५० लाख ७० हजार र ज्योति विकास बैंकले ८ करोड ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ४ करोड ७४ लाख ९० हजार, मितेरी डेभलपमेन्ट बैंकले ९४ लाख ६० हजार, लुम्बिनी विकास बैंकले ९१ लाख ४० हजार, कर्णाली डेभलपमेन्ट बैंकले ८३ लाख ६० हजार, ग्रिन विकास बैंकले ५५ लाख १० हजार, सिन्धु विकास बैंकले ३८ लाख ३० हजार, सप्तकोशी डेभलपमेन्ट बैंकले १७ लाख ७० हजार र नारायणी विकास बैंकले ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

नारायणी विकास बैंकले भने गत वर्षको साउनमा २८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेकोमा यस वर्ष नाफामा फर्किएको हो।

लुम्बिनीको नाफा ९१ प्रतिशतभन्दा बढी घट्यो

समीक्षा अवधिमा लुम्बिनी विकास बैंकको नाफामा सबैभन्दा ठूलो गिरावटमध्ये एक देखिएको छ। बैंकले यस वर्ष ९१ लाख ४० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ११ करोड ८ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ९१.७५ प्रतिशतले घटेको हो।

यस्तै, सालपा विकास बैंक ५ लाख ७० हजार रुपैयाँ घाटामा गएको छ।

त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक १५ लाख ४० हजार रुपैयाँ, सिन्धु विकास बैंक ३८ लाख ३० हजार रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंक ८३ लाख ६० हजार रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंक ५ करोड २४ लाख ८० हजार रुपैयाँ ऋणात्मक रहेको तथ्याङ्कमा उल्लेख छ।

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीका साधारण शेयरमा ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार यो लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १९.७४ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले शेयर बजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ लगानी गरेका थिए ।

बजारमा लगानी विस्तार गर्ने कम्पनीमध्ये सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडि देखिएका छन् । राष्ट्रिय बीमा कम्पनीले सूचीकृत कम्पनीहरूको साधारण शेयरमा ७९ करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा यसको शेयर लगानीमा उल्लेख्य वृद्धि देखिएको छैन ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७७ करोड ३६ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेको छ । कम्पनीको यस्तो लगानी गत वर्षको तुलनामा ५४.३० प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।

तेस्रो त्रैमाससम्म नेको इन्स्योरेन्सले ६२ करोड ४९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५८ करोड ५५ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४९ करोड ७२ लाख रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेका छन् ।

यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४७ करोड ७९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ४७ करोड १५ लाख रुपैयाँ शेयर बजारमा लगानी गरेका छन् ।

नेपाल इन्स्योरेन्सले ३३ करोड ५९ लाख रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सले २१ करोड ३० लाख रुपैयाँ बराबरको लगानी शेयर बजारमा गरेका छन् ।

तर सबै निर्जीवन बीमा कम्पनीको शेयर लगानी भने बढेको छैन । सानिमा जीआईसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर बजारमा गरेको लगानी घटाएका छन् ।

समग्रमा हेर्दा निर्जीवन बीमा कम्पनीहरूले आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्दै सूचीकृत शेयरलाई पनि लगानीको महत्वपूर्ण क्षेत्रका रूपमा प्रयोग गरिरहेका छन् । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा व्यवसायको क्षेत्रगत लगानी विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पत्रकारहरूले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले कुनै व्यक्तिसँग प्रश्न गर्नुअघि अनुमति लिने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत सम्बन्धित व्यक्तिलाई जानकारी गराउने अभ्यास रहेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुनियाँभरि पत्रकारिताको के नियम हुन्छ भने तपाईंसँग प्रश्न सोध्न सकिन्छ भनेर अगाडि सोधिन्छ । प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुभन्दा अगाडि तपाईंले भन्नुभएको कुरा हामी प्रकाशित गर्दैछौँ, गरौँ ? भनेर सोध्छ । तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस् । त्यस्तो नगर्नुहोस् ।’

उहाँले सञ्चारकर्मीहरूलाई पत्रकारिताको मर्यादा र अभ्यासअनुसार प्रश्न गर्न आग्रह गर्नुभयो ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछिको खोजी, उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सरकारका प्रतिनिधिले भोटेकोशी बाढीपछि भइरहेको खोजी, उद्धार तथा राहतका कामबारे ब्रिफिङ गरेका थिए । खोजी, उद्धार र राहतको काम जारी रहेको तथा पुनर्निर्माण र पुनर्स्थापनाका कामसमेत समानान्तर रूपमा अघि बढिरहेको जानकारी बैठकमा गराइएको खरेलले बताउनुभयो ।

बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको उहाँको भनाइ छ ।

खरेलले भन्नुभयो, ‘राहत तथा पुनर्स्थापनामा कुनै पनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरूको डीएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्‍यो र पीडित परिवारलाई राहत दिनुपर्‍यो भन्ने कुरा नै मुख्य रूपमा रहेको छ ।’

उहाँले अझै ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेको भन्दै उनीहरूको अवस्था तत्काल यकिन गर्नुपर्ने बताउनुभयो । कानुनी अवरोध भए आवश्यक कानुनी व्यवस्था गरेर परिवारको सहमतिमा प्रक्रिया अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

रोकिएका पार्टी गतिविधि पुनः सञ्चालन
रास्वपाले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि स्थगित गरिएका पार्टीका सार्वजनिक गतिविधि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी, रास्वपाले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि औपचारिक रूपमा काम अघि बढाएको जनाएको छ । प्रवक्ता खरेलका अनुसार पार्टीले यसअघि नै उठाउँदै आएको उक्त विषयमा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कमिटी गठन गरिसकेको छ ।

उहाँका अनुसार ‘राइट टु रिकल’ व्यवस्था कार्यान्वयनका लागि पार्टीले आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा इन्द्रावती गाउँपालिकाले माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले संविधान, लोकतन्त्र, नागरिक अधिकार तथा राष्ट्र निर्माणमा युवाको भूमिकालगायत विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, गाउँपालिका कार्यालय नजिकै रहेको भृकुटी पार्कमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले पार्क तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै सार्वजनिक स्थल स्वच्छ र सुन्दर राख्नुपर्ने सन्देश दिएका थिए।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीमा संवैधानिक चेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक स्थलको संरक्षण र सरसफाइप्रति सामूहिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुगेको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी भई सरसफाइ अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति इन्द्रावती गाउँपालिका परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

सिन्धुपाल्चोक । पाँचपोखरी प्राथमिक अस्पतालमा एघारौँ संविधान दिवस–२०८३ को अवसरमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।
पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षज्यू, वडा अध्यक्षज्यू, सञ्चालन समितिका सदस्यज्यूहरू, स्वास्थ्य शाखा प्रमुखज्यू तथा अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै संविधान दिवसको शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै पाँचपोखरी प्राथमिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्षज्यूले संविधान दिवस मनाउनुको उद्देश्य संविधानमा व्यवस्था गरिएका अधिकार र व्यवस्थालाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले संविधानप्रति नागरिकको अपनत्व र जिम्मेवारीबोध बढाउँदै संविधानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षले संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक तथा अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न राज्यका सबै तह र निकाय जिम्मेवार हुनुपर्ने बताउँदै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच र गुणस्तरीय सेवा प्रवाहमार्फत संविधानको मर्मलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै अस्पताल प्रशासन प्रमुख सरोज धितालले संविधानको संरक्षण र कार्यान्वयनसँगै जनताको मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवालाई थप प्रभावकारी, सहज र सर्वसुलभ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले अस्पताल परिवारमा संविधानप्रति सम्मान, नागरिकप्रतिको जिम्मेवारी तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता अभिव्यक्त गरेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।