
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोकमा प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन मेलम्चीमा हुँदैछ। अधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न तहको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।
यसैक्रममा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’को सभापति पदका लागि देव कोइरालाले उम्मेदवारी घोषणा गरेका छन्।
कोइरालाले सुशासन, विकास, समावेशी समृद्धि, प्रविधिमैत्री कांग्रेस र चुनौतीपूर्ण परिस्थितिमा सशक्त संगठन निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
कुनै समय बाडेगाउँ क्षेत्रमा नेपाली कांग्रेसको संगठन कमजोर रहेको स्मरण गर्दै कोइरालाले आफूले कठिन परिस्थितिबाट कांग्रेसको राजनीति अघि बढाएको बताएका छन्। उनका अनुसार २०५१ सालको निर्वाचनमा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार विनोद मोक्तानको चुनावी प्रचारमा सक्रिय हुँदा आफूले राजनीतिक दबाब र अवरोधसमेत सामना गर्नुपरेको थियो।
उनले त्यसबेला कांग्रेसको पक्षमा खुलेर लाग्दा आफ्नो घरमाथि ढुंगामुढा तथा धम्की आउने गरेको स्मरण गरेका छन्।
कोइरालाका अनुसार आफ्नो क्षेत्रमा कांग्रेसको संगठन कमजोर भए पनि उनले पार्टीको राजनीति छाडेनन्। २०५३ सालमा उनी ऐसेलुखर्क माध्यमिक विद्यालयको इकाई सभापति बनेका थिए।
‘त्यतिबेला हाम्रो भेगमा कांग्रेसको संगठन थिएन। आफू एक्लै भए पनि कांग्रेसमा लागिरहेँ। अहिले धेरै जना कांग्रेसमा जोडिनुभएको छ,’ उनले भने, ‘सबैको सहयोग पाउनेमा विश्वस्त छु।’
लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय कोइराला २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट इन्द्रावती गाउँपालिका–६ को वडाध्यक्ष पदका प्रत्यासीसमेत थिए।
हाल उनी नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य छन्। उनी सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा ‘क’को महाधिवेशनमा लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए।
प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै कोइरालाले बदलिँदो राजनीतिक परिवेशअनुसार कांग्रेसको संगठनलाई थप व्यवस्थित, सशक्त र जनमुखी बनाउनुपर्ने बताएका छन्। उनले पार्टी संगठनलाई डिजिटल माध्यम र प्रविधिसँग जोड्दै नयाँ पुस्ताको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
‘सुशासन र विकाससँगै सबै समुदायको समान सहभागिताबाट समावेशी समृद्धि हासिल गर्नुपर्छ। बदलिँदो समयसँगै कांग्रेसलाई प्रविधिमैत्री बनाउन आवश्यक छ,’ कोइरालाले भने, ‘चुनौतीपूर्ण अवस्थामा संगठनलाई थप सशक्त र एकताबद्ध बनाएर जनताको विश्वास जित्ने मेरो लक्ष्य हो।’
बाडेगाउँमा कांग्रेसको संगठन कमजोर रहेको समयदेखि नै पार्टीमा सक्रिय रहँदै आएका कोइरालाले आफ्नो लामो राजनीतिक यात्रा, संगठन निर्माणको अनुभव र नयाँ पुस्ताको अपेक्षालाई प्रदेश नेतृत्वसँग जोड्न उम्मेदवारी दिएको बताएका छन्।
बनेपा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट ई. विजय गौतमले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘राजनीति र प्रविधि—It’s time for a TechnoPolitics’ भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका गौतमले प्रविधि, नीति र नयाँ पुस्ताको सोचलाई पार्टी संगठनसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताएका छन्।
प्रविधि क्षेत्रमा लामो अनुभव हासिल गरेका गौतम विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलमा इन्फर्मेशन सेक्युरिटी आर्किटेक्टका रूपमा कार्यरत रहिसकेका छन्। त्यसअघि उनले क्वालकममा समेत काम गरेका थिए। नेपाल फर्किएपछि शिक्षा, गृह, सञ्चार तथा भौतिक पूर्वाधारलगायत विभिन्न मन्त्रालयअन्तर्गतका सरकारी सल्लाहकार तथा अध्ययन समितिमा समेत संलग्न भएको उनले बताएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारीसँगै गौतमले पार्टीको विधान र संगठनात्मक संरचनामा समयसापेक्ष सुधारलाई मुख्य एजेन्डा बनाएका छन्। नेपाली कांग्रेसको मूल सिद्धान्तलाई आत्मसात् गर्दै वर्तमान विधानलाई थप व्यावहारिक, लचिलो र बदलिँदो परिस्थितिअनुकूल बनाउन महाधिवेशनको सर्वोच्च मञ्चमा स्पष्ट र निर्भीक आवाज उठाउने उनको प्रतिबद्धता छ।
पार्टीका हरेक तहमा निर्णय प्रक्रिया पारदर्शी र समावेशी बनाउँदै तल्लो तहका कार्यकर्ताको भावना प्रतिबिम्बित हुने गरी आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
गौतमले व्यक्तिगत वा गुटगत स्वार्थभन्दा माथि उठेर नीति, सिद्धान्त र कार्यकर्ताको मूल्याङ्कनका आधारमा पार्टी सञ्चालन गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्। त्यसका लागि आवश्यक व्यवस्था पार्टी विधानमै स्पष्ट गर्न पहल गर्ने उनको भनाइ छ।
कठोर र जटिल संगठनात्मक संरचनाका कारण नयाँ पुस्ता तथा योग्य व्यक्तिहरू नेतृत्वमा पुग्न कठिन हुने अवस्थाको अन्त्य गर्दै युवा र नयाँ विचारलाई नेतृत्वमा ल्याउने वैधानिक बाटो खोल्नुपर्ने उनको धारणा छ।
प्रविधि र आधुनिक शासन व्यवस्थाबीचको सम्बन्धलाई जोड दिँदै गौतमले प्रविधिको प्रयोगबिना आधुनिक शासन प्रणालीको परिकल्पना अधुरो हुने बताएका छन्।
“प्रविधिबिनाको आधुनिक शासन प्रणाली निर्देशनतन्त्र हो, जहाँ ट्याक्टरको इन्जिनले प्लेन उडाउने सपना बेचिन्छ,” गौतमले भनेका छन्।
उनले कांग्रेसको महाधिवेशनलाई केवल सभा, समारोह, सहमति र निर्वाचनमा सीमित नराखी नीति, सिद्धान्त र पार्टीको दीर्घकालीन दृष्टिकोणमाथि खुला तथा जीवन्त बहस हुने मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएमा प्रविधि, नीति र नयाँ पुस्ताको सोचलाई पार्टीको संगठनात्मक अभ्याससँग जोड्दै कांग्रेसलाई समयअनुकूल बनाउन आफ्नो भूमिका केन्द्रित गर्ने गौतमको भनाइ छ।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आइतमान तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी दिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका तामाङले पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हालिसकेका छन्। उनी हाल मेलम्ची नगरपालिकाका नगर प्रमुख छन्। नेपाली कांग्रेसको आधिकारिक विवरणमा तामाङलाई सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा महाधिवेशन प्रतिनिधिका रूपमा समेत उल्लेख गरिएको छ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित तामाङले स्थानीय सरकारको नेतृत्वसँगै पार्टी संगठनका गतिविधिमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। निर्वाचन विवरणअनुसार उनले उक्त निर्वाचनमा ११ हजार २५८ मत प्राप्त गरी मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।
महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिनुको मुख्य उद्देश्य पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै कार्यकर्तासँगको संवाद तथा समन्वयलाई प्रभावकारी बनाउनु रहेको तामाङले बताएका छन्।
उनले अग्रज नेताको अनुभव, कार्यकर्ताको भावना र नयाँ पुस्ताको ऊर्जालाई समेटेर कांग्रेस संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको लोकतान्त्रिक मूल्य, विधि र विधानलाई आत्मसात् गर्दै संगठन निर्माणमा आफ्नो अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गर्ने उनको भनाइ छ।
“संगठनमा गरेको निरन्तर काम, कार्यकर्तासँगको सहकार्य र पार्टीका विभिन्न जिम्मेवारीबाट प्राप्त अनुभवलाई अब अझ प्रभावकारी रूपमा संगठन निर्माणमा लगाउने मेरो प्रतिबद्धता हो,” तामाङले भने, “सबै कांग्रेसजनको सुझाव, साथ, सहकार्य र अमूल्य मतको अपेक्षा गरेको छु।”
नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया पनि कार्यतालिकामा समेटिएको छ।
तामाङले महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टी संगठन सुदृढीकरण, आपसी एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनले महाधिवेशन सफल बनाउन कांग्रेसका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूसँग साथ, सहकार्य र समर्थनका लागि आग्रह गरेका छन्।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वकेन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ का थापा केही वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेस प्रवेशपछि उनलाई पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो।
थापा २०७९ सालको स्थानीय तह, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनदेखि २०८२ सालमा सम्पन्न निर्वाचनसम्म कांग्रेसको पक्षमा सक्रिय रूपमा चुनावी अभियानमा खटिएका थिए। उनी गाउँगाउँ पुगेर पार्टीका उम्मेदवारका पक्षमा मत माग्दै कार्यकर्तासँग प्रत्यक्ष रूपमा जोडिएका थिए।
निर्वाचनका क्रममा थापाको सक्रियता र कार्यकर्तामाझ पुग्ने शैलीले पार्टीका स्थानीय नेता तथा कार्यकर्तामा उत्साह र ऊर्जा थपेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।
राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थापालाई पार्टीले केन्द्रीय सदस्य हुँदै अहिले महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने अवसर दिनुलाई कांग्रेसभित्र फरक राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिलाई समेत जिम्मेवारी र स्थान दिने अभ्यासका रूपमा हेरिएको छ। यसले नयाँ पुस्तामा पनि पार्टीप्रति आकर्षण र राजनीतिक सक्रियताका लागि ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
थापा इन्द्रावती गाउँपालिका–६ बाट यसअघि नै सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भइसकेका छन्।
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेशसभा ‘क’ बाट प्रदेश महाधिवेशन प्रतिनिधि पदका लागि चिनलाल तामाङले उम्मेदवारी घोषणा गरेका छन्।
सानै उमेरदेखि विद्यार्थी तथा सामाजिक गतिविधिमा सक्रिय तामाङले परिवर्तनको पक्षमा निरन्तर क्रियाशील रहँदै आएको बताएका छन्।
तामाङको विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रियताको यात्रा वि.सं. २०७२ सालमा सेतीदेवी माध्यमिक विद्यालय बाल क्लबको अध्यक्षबाट सुरु भएको देखिन्छ। वि.सं. २०७४ मा उनी सेतीदेवी माविको जुनियर रेडक्रस सर्कल अध्यक्ष बने। त्यसैगरी २०७५ सालमा सुर्के सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा वडा स्तरीय वडा बाल सञ्जालको अध्यक्षको जिम्मेवारी सम्हाले।
राजनीतिक यात्रातर्फ तामाङ वि.सं. २०७६ सालमा रत्नगंगा नेविसंघ इकाइ सभापति बने। २०७७ सालमा नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर सदस्यको जिम्मेवारीमा रहे भने २०७८ सालमा चमुण्डा नेविसंघ इकाइ सभापति बने।
त्यसपछि २०८० सालमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सदस्यका रूपमा काम गरेका तामाङले २०८१ साल चैत ५ गते भएको चौतारा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सचिव पदका प्रत्यासीसमेत बनेका थिए।
विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका तामाङले आफूले प्राप्त गरेको अनुभवलाई पार्टी संगठन सुदृढीकरण र नयाँ पुस्ताको सहभागिता बढाउन उपयोग गर्ने बताएका छन्।
उनले विधि, विचार र संगठनलाई केन्द्रमा राख्दै युवा पुस्ताको सक्रिय सहभागितासहित कांग्रेसलाई थप सशक्त बनाउने उद्देश्यले प्रदेश महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताएका छन्।
काठमाडौं । माछापुच्छ्रे बैंकले जलविद्युत क्षेत्रमा आफ्नो लगानीलाई प्राथमिकतामा राख्दै हालसम्म करिब २८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रतिबद्धता जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाका अनुसार बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरेको छ। तीमध्ये १६ वटा आयोजनामा बैंकले नेतृत्वदायी बैंकका रूपमा सहवित्तीयकरणको नेतृत्व गरेको छ भने ९ वटा आयोजनामा एकल लगानी गरेको छ।
त्यस्तै, अन्य बैंकको नेतृत्वमा रहेका १५ वटा जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंक सदस्य बैंकका रूपमा सहभागी भएको छ। बैंकको जलविद्युत क्षेत्रमा हालसम्मको कर्जा प्रतिबद्धता करिब २८ अर्ब रुपैयाँ पुगेको छ भने करिब १५ अर्ब रुपैयाँ कर्जा बक्यौता रहेको सीईओ कोइरालाले जानकारी दिए।
बैंकको कुल कर्जा पोर्टफोलियोमा जलविद्युत क्षेत्रको हिस्सा करिब ९ प्रतिशत रहेको छ।
कोइरालाले जलविद्युत क्षेत्र बैंकको उच्च प्राथमिकतामा रहेको बताए। उनका अनुसार ऊर्जा क्षेत्रमा बैंकको उल्लेख्य लगानी र प्रतिबद्धताले जलविद्युत विकासमा बैंकको निरन्तर चासो र सहभागिता देखाउँछ।
यसैबीच, सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि आवश्यक ऋण लगानी जुटाउन माछापुच्छ्रे बैंकको नेतृत्वमा सहवित्तीयकरण सम्झौता गरिएको हो।
वित्तीय व्यवस्थापन सम्झौतापछि आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आफू र सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको सीईओ कोइरालाले बताए।
उनले आयोजना निर्माणमा बैंकको तर्फबाट लगानीको कमी नहुने स्पष्ट पार्दै प्रवर्द्धकले पनि सुरक्षा, गुणस्तर र समयसीमामा विशेष ध्यान दिनुपर्ने बताए।
‘यो आयोजना निर्धारित समयमै कुनै अवरोधबिना सञ्चालनमा आउनुपर्छ। बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन। प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम सम्पन्न गर्नुपर्छ,’ कोइरालाले भने।
जलविद्युत आयोजना निर्माणमा वित्तीय व्यवस्थापनसँगै पूर्वाधार सुरक्षा, प्राविधिक गुणस्तर र समयमै निर्माण सम्पन्न गर्ने विषयलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने बैंकको भनाइ छ।
श्रीमान् अध्यक्षज्यू,
श्रीमान् महासचिवज्यू,
महामहिमज्यूहरू,
सम्माननीय प्रतिनिधिज्यूहरू,
महिला तथा सज्जनवृन्द,
म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म यहाँ विकास, लोकतन्त्र, शान्ति र एउटा राष्ट्रको आशाबारे मात्रै बोल्न चाहन्थे।
तर, त्यसको सट्टा, म मृत्यु र अकल्पनीय विनाशबारे बोल्छु। ती परिवारबारे जो कहिल्यै घर नफर्कने आफ्ना प्रिजयनलाई पर्खिरहेका छन्। ती समुदायबारे जसले लेदो, ढुङ्गामाटो, पानीभित्र आफ्ना मानिसहरूको खोजी गरिरहेका छन्, जसको शरीर अब कहिल्यै नभेटिन सक्छ। ती पुलहरू, सडकहरू, विद्यालयहरू, घरहरू र जीविकोपार्जनका माध्यमहरू निमेषभरमै बगेर गए। एउटा देशबारे जसले दिगो विकासको लक्ष्य हासिल गर्ने दिशामा निरन्तर प्रगति गरिरहेको थियो त्यसमा अवरोध पुगेको छ।
४ साताअघि, विश्वले नेपालको हिमाली समुदायहरूमा तीव्रताका साथ आएको विनाशकारी बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्। भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वका लागि एउटा चेतावनी पनि थियो।
र, म आज तपाईंहरुसँग सोध्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ?
करिब ३ वर्षअघि, संयुक्त राष्ट्रसंघका महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो। विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन। हामीले नेपालमा सुन्यौं, हाम्रो समुदायले सुन्यो। विश्वभरका वैज्ञानिकहरूले सुने। उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्याइरहे।
तर हामी, विश्वका राजनीतिक नेतृत्वहरूले त्यो चेतावनीलाई जोखिममा रहेका मानिसहरूको आवश्यकताअनुसार तीव्र गतिमा कार्यान्वयनमा बदल्न बेवास्ता गर्यौँ। त्यसको दुःखद् परिणाम हामीले गत महिना भोग्यौँ।
तातिँदै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको छ। हिउँले जमेको माटो पग्लिदा हिमालको भिरालो भूभागमा चिरा परेका छन्। हिमचट्टानसहितको पहिरो, बाढीलगायत शृङ्खलाबद्ध जोखिमहरू बढिरहेका छन्।
परिणामस्वरुप यस विनाशले नेपाल–चीन सीमाका दुवै भूभागमा ठूलो क्षति पुर्यायो। बाढी निरन्तर भारततिर बग्दै गयो। यसले हामीलाई एउटा आधारभूत कुरा बताउँछ। जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी पासपोर्टमा भिसा लगाएर यात्रा गर्दैनन्।
महामहिमज्यूहरू,
म यहाँ गुनासो गर्न होइन, केही सुझाव साझा गर्न आएको हुँ।
सर्वप्रथम, विपत्तिपछि नेपाललाई सहयोग गर्न आउने सबैप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु। हाम्रा छिमेकी मुलुकहरू भारत र चीनले तत्कालै र खुला हृदयका साथ सहयोग गरे। अन्य मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघीय प्रणाली, मानवीय सहायता प्रदायक संस्थाहरू, परोपकारी संस्थाहरू तथा विश्वभरका मानिस नेपालसँगै उभिनुभयो। म उहाँहरु सबैलाई नेपालका कृतज्ञ जनताका तर्फबाट धन्यवाद भन्न चाहन्छु।
नेपाल अहिले पुनःस्थापना र पुनर्निर्माणको विशाल कार्यको सामना गरेको छ। कम्तीमा १ हजार ४ सय जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ६ हजारभन्दा बढी मानिस अझै बेपत्ता हुनुहुन्छ। हाम्रो द्रुत क्षति आकलनअनुसार अब भौतिक पुनःस्थापनाका लागि नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)को १० प्रतिशत आवश्यक छ।
सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्पपछिको पुनर्निर्माणमा जस्तै यसपटक पनि हामी तपाईंहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्छौँ।
तर, यो विपद् नेपाल बाहेकका लागि पनि किन अर्थपूर्ण छ भन्ने हामीले बुझ्नुपर्छ। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम छ। यो संकट हामीले सिर्जना गरेका होइनौँ। तर, यसको ठूलो मूल्य हामीले चुकाइरहेका छौँ। हाम्रा हिमनदी खुम्चिँदै गएका छन्। हाम्रा हिमालका भिराला भूभागहरू अस्थिर बन्दै गएका छन्। हाम्रा नदीहरू पूर्वानुमान गर्न नसकिने अवस्थामा पुगेका छन्। प्रत्येक ठूला विपद्ले हामीले वर्षौँ लगाएर निर्माण गरेका विकासका पूर्वाधारहरूलाई ध्वस्त बनाउने चेतावनी दिइरहेका छन्। नेपालका लागि जलवायु विपद् मानवीय घटना मात्रै होइन, विकासको सङ्कट पनि हो। यसले सडकहरू, पुलहरू, विद्यालयहरू, घरहरू, खेतीयोग्य जमिन र जीविकोपार्जनका माध्यमलाई क्षति पुर्याउँछ। यसले गरिब देशले गरेको नगन्य गल्तीबाट भएको क्षतिको भरपाइका लागि ठूलो ऋण लिन बाध्य बनाउँछ।
हामी कुनै देश वा महादेशलाई दोष दिन यहाँ आएका होइनौँ। हामी जलवायु परिवर्तनलाई अर्को भूराजनीतिक युद्धभूमिमा परिणत गर्न पनि यहाँ आएका होइनौँ। हामी यहाँ सबैलाई आफ्नो जिम्मेवारी र ऐक्यबद्धतामा पुनःप्रतिबद्ध हुन आग्रह गर्न आएका हौँ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिमार्फत अन्तर्राष्ट्रिय समुदायले साझा तर फरक–फरक जिम्मेवारी तथा आ–आफ्नो क्षमताको सिद्धान्तमा पहिले नै सहमति जनाइसकेको छ। जसले ऐतिहासिक रूपमा समस्यामा बढी योगदान गरेका छन् र जोसँग प्रतिक्रिया जनाउने बढी क्षमता छ, उनीहरूले बढी गर्नुपर्छ।
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसंघको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुनुहुँदैन। हाम्रो देशका मानिसहरूलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्छ।
महामहिमज्यूहरू,
हिन्दूकुश हिमालय करिब दुई अर्ब मानिसको घर हो। यी पर्वतहरूले नेपालभन्दा धेरै परसम्म रहेका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्छन्। हिमालय पृथ्वीको छेउमा रहेको भूभाग मात्रै होइन, यो पृथ्वीको जीवन–सहयोग प्रणालीको महत्वपूर्ण हिस्सा पनि हो।
त्यसैले पहिलो आकस्मिक कदमका रूपमा नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न हामी प्रस्ताव गर्छौँ। यस संयन्त्रमार्फत हामी भू–उपग्रहसम्बन्धी तथ्याङ्क र विशेषज्ञता साझा गरौँ। जोखिमयुक्त हिमतालहरूको अनुगमन गरौँ। संयुक्त पूर्वसूचना प्रणालीलाई सुदृढ बनाऔँ। र, जब विपद् आउँछ, सीमापार सहयोगलाई समन्वय गरौँ।
हिमालयलाई छरिएका सूचनाभन्दा अन्तर्राष्ट्रिय सहयोगको एउटा प्रयोगशाला बनाऔँ। नेपाल एउटा अतिकम विकसित देश भएर पनि आफ्नो पारिस्थितिक हिस्साभन्दा धेरै ठूलो वैश्विक भूमिका निर्वाह गरिरहेको छ। हामीले आफ्नो भूभागको करिब आधा हिस्सा ढाक्ने गरी वन क्षेत्र विस्तार गरेका छौँ। आफ्ना स्वच्छ ऊर्जाको आवश्यकता पूरा गर्न र बाहिरबाट आएको प्रदूषणको स्रोतलाई विस्थापित गर्न तीव्रगतिमा जलविद्युत् आयोजनाहरू विकास गरिरहेका छौँ। युरोपका केही भूभागसँग तुलना गर्न मिल्ने दरमा विद्युतीय सवारीसाधनहरूको प्रयोगलाई प्रवर्द्धन गरिरहेका छौँ। स्थानीय तहमा जलवायु अनुकूलनलाई सुदृढ बनाइरहेका छौँ। दोहोरिरहने जलवायु विपद्को सामना गर्न अझ बढी कदम चाल्नेछौँ। तर नेपाल एक्लैले विश्वव्यापी शासन व्यवस्थाको असफलताबाट सिर्जित संकटविरुद्ध उत्थानशीलता निर्माण गर्न सक्दैन।
त्यसैले यस महासभाले यी ६ शब्दलाई ध्यान दिनुपर्छः राहत। पुनःस्थापना। पुनर्निर्माण। र, त्यसैगरी : जिम्मेवारी। क्षतिपूर्ति। उत्थानशीलता। पहिला तीनवटा विपद्पछि हामीलाई आवश्यक पर्छन्। पछिल्ला तीनवटा विपद्लाई स्थायी अवस्थाका रूपमा परिणत हुन नदिन हामीलाई आवश्यक पर्छन्। जब जलवायुजन्य विपद्ले गरिब देशको पूर्वाधार नष्ट गर्छ, त्यसको उत्तर अर्को ठूलो ऋण वा टुक्रे अनुदान मात्र हुन सक्दैन।
हामीलाई विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक छ। क्षति तथा नोक्सानी कोष, विश्वव्यापी वातावरणीय सुविधा र अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू अझै अपर्याप्त छन्। जलवायु वित्त यस्तो कर्मचारीतन्त्रको जाल बन्नु हुँदैन, जसबाट कमजोर देशहरूले आफूलाई आवश्यक सहयोगका लागि वर्षौंसम्म प्रमाणित गर्नुपरोस्। जब घरमा आगो लाग्छ, तब हामी परिवारलाई ५० वटा फाराम भर्न लगाउँदैनौँ। हामी काम गर्छौँ। जलवायु न्यायको अर्थ पनि यही हुनुपर्छ।
महामहिमज्यूहरू,
यसले मलाई एउटा ठूलो प्रश्नतर्फ जोड्छ। हामी कस्तो अन्तर्राष्ट्रिय व्यवस्था चाहन्छौँ? संयुक्त राष्ट्रसंघ मानवताले भोगेको भयावह विश्वयुद्धको अनुभवबाट जन्मिएको हो। यसको वाचा सार्वभौमिकता महत्वपूर्ण हुन्छ भन्ने थियो। अन्तर्राष्ट्रिय कानुन महत्वपूर्ण हुनेछ। हरेक मानवको गरिमा महत्वपूर्ण हुनेछ। कमजोरहरूले शक्तिशालीहरूले जे निर्णय गर्छन्, त्यो मात्र स्वीकार गर्नुपर्ने छैन। आज त्यो अन्तर्राष्ट्रिय प्रणाली दबाबमा छ। धेरै पटक सैन्य र आर्थिक शक्तिले कसको आवाज सुनिन्छ भन्ने निर्धारण गर्छ। नेपाल निष्पक्ष विश्वव्यापी आर्थिक व्यवस्थामा विश्वास गर्छ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदनले ‘मानवीय असुरक्षा’को अवधारणा अघि सारेको थियो। यसले सुरक्षालाई भूभागभन्दा मानिससँग र हतियारभन्दा विकाससँग जोडेको थियो। यसले डर र अभावबाट स्वतन्त्रता सुनिश्चित गर्न शान्तिको लाभांश प्रयोग गर्न आह्वान गरेको थियो।
गत मार्चमा नेपालमा इतिहासकै सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन भयो। त्यसबाट निर्वाचित बहुमतको सरकारले त्यसयता धेरै अन्तर्राष्ट्रिय प्रतिकूलताको सामना गर्नुपरेको छ। जब नेपालका एक गरिब किसानले यस मनसुनमा आफ्नो खेतमा बीउ छर्न खोज्नुभयो, समयमै मल पाउनुभएन। जब राजमार्गमा कालोपत्र गर्न खोज्यौँ, बिटुमिन पाएनौँ । जब परिवारले साँझको खाना पकाउन खोज्यो, त्यसबेला खाना पकाउने इन्धन भएन।
एकातिर हिमनदीहरू पग्लिरहेका छन् र बाली उत्पादन घटिरहेको छ, बिना चेतावनी बाढी आइरहेको छ। अर्कोतिर, विश्वव्यापी आपूर्ति शृंखलाले गरिब मानिसलाई उनीहरूको आफ्नो नियन्त्रणभन्दा बाहिरका कारणका लागि सजाय दिइरहेको छ।
अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्। राइफल र गोलीगठ्ठा सबै अवरोधहरू तोड्दै समयमै सीमा पार गर्छन्। तर नेपालका एक किसानले आवश्यकता परेको समयमा बजार मूल्यमा मल वा इन्धन खरिद गर्न सक्नुहुन्न।
हामीले यस्तो संसार बनाएका छौँ, जहाँ युद्धका लागि आवश्यक सामान आपूर्ति गर्न सजिलो छ तर खाद्यान्नका लागि निकै कठिन छ। यो नेपालको मात्रै दुर्भाग्य होइन। बंगलादेशलाई सोध्नुहोस्। भुटानलाई सोध्नुहोस्। भारतलाई सोध्नुहोस्। माल्दिभ्सलाई सोध्नुहोस्। पाकिस्तानलाई सोध्नुहोस्। श्रीलंकालाई सोध्नुहोस्। हाम्रो क्षेत्रका अन्य कुनै पनि देशलाई सोध्नुहोस्। तपाईंले उस्तै जवाफ पाउनुहुनेछः हामीले नतताएको जलवायुबाट प्रभावित र सुरु नगरेका युद्धबाट फेरि प्रभावित। यसले हामीलाई वर्तमान विश्वव्यापी सहकार्यको व्यवस्थामा देखिएको भन्दा धेरै कुरा बिग्रिएको छ भन्ने स्पष्ट पार्छ।
महामहिमज्यूहरू,
मलाई भनिएको छ, म यो वर्ष यस महासभालाई सम्बोधन गर्ने सबैभन्दा कान्छो सरकार प्रमुख हुँ। तर, मैले यहाँ यसलाई मुख्य कथा बनाउन आएको होइन। यहाँ यस मञ्चबाट जे–जति कुरा भनिए पनि म एउटा कुरा स्पष्ट रूपमा भनियोस् भन्ने सुनिश्चित गर्न आएको हुँः भुक्तानी गर्न तयार रहेको देशले खरिद गर्न सक्षम हुनुपर्छ र ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित गर्न कुनै बहाना बनाउनु हुँदैन। हामी बहुपक्षीयतामा विश्वास गरिरहन्छौँ। यसैले हामीलाई यस्तो संयुक्त राष्ट्रसंघ आवश्यक छ, जहाँ साना र गरिब देशहरूको उपस्थिति महसुस होस् र हामी न्यायपूर्ण परिणामका लागि सँगै काम गर्न सकौँ। त्यसैले जलवायु न्याय पैसाको विषय मात्रै होइन। यो खर्च कस्ले बेहोर्छ भन्ने वितरणात्मक न्यायको विषय हो। यो कसको आवाज सुनिन्छ भन्ने प्रक्रियागत न्यायको विषय हो। साथै पर्वतीय समुदायहरू, साना टापु राष्ट्रहरू, भूपरिवेष्ठित तथा कम विकसित देशहरू र जन्मिन बाँकी पुस्ताहरूको भविष्यलाई समान रूपमा महत्व दिइन्छ कि दिइँदैन भन्ने विषय पनि हो। संयुक्त राष्ट्रसंघमा भोलिदेखि आयोजना हुने ‘सगरमाथादेखि समुद्रसम्म’ साइड–इभेन्टबाट नेपाल यो संवादको नेतृत्व गर्न सहयोग गर्न तयार छ।
श्रीमान् अध्यक्षज्यू तथा महामहिमज्यूहरू,
हामी अहिले गहिरो विश्वव्यापी अनिश्चितताको मोडमा उभिएका छौँ। नयाँ पुस्ताको चाहना प्रतिबिम्बित गर्ने ताजा लोकतान्त्रिक जनमतका साथ यस महासभामा उपस्थित भएका छौँ। हाम्रा युवाहरूले इमानदारी र जवाफदेहिताको राजनीति माग गरेका छन्। यो पुस्तान्तरण राष्ट्रिय विषय मात्रै होइन। यो द्वन्द्व, असमानता र न्यून अवसरविरुद्ध विश्वव्यापी जागरणको हिस्सा पनि हो। म नेतृत्वको सरकार एउटा यस्तो राज्य निर्माणमा प्रतिबद्ध छ। जहाँ मर्यादित रोजगारी, सामाजिक सुरक्षा र प्रत्येक नेपालीलाई आफ्नै घरमा बस्ने चाहना पूरा गर्ने अवसर प्राप्त हुनेछ।
नेपालमा आएको बाढीले बढ्दो चरम मौसमी घटनाहरुबाट आकार लिने भविष्यको संकेत गर्छ। त्यसैले हामी तत्कालको उपाय छाडेर दीर्घकालीन पूर्वतयारीको दिशातर्फ अघि बढ्ने संस्कृतिको विकास गर्नुपर्छ। हामी उत्थानशीलताका लागि वित्तीय व्यवस्था र बीमा तथा नवप्रवर्तनमा लगानी गरौँ। अझ बलियो पूर्वाधार र संस्थाहरू निर्माण गरौँ। जीवाश्म इन्धनको निर्भरता घटाऔँ। चेतावनी दिने, सचेत गराउने र जीवन बचाउने प्रणाली निर्माण गरौँ। कमजोरलाई सबैभन्दा कम शक्ति दिने व्यवस्थामा सुधार गरौँ। जब विश्वको छानोबाट अर्को चेतावनी आउँछः त्यो सुन्न तयार रहौँ, र त्यसैअनुसार काम गर्न पनि तयार रहौँ।
भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्।
यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।
धन्यवाद, नमस्ते ।
सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानाध्यापक नियुक्ति प्रक्रिया सम्पन्न गरेको छ।
गाउँपालिकाले पहिलो चरणअन्तर्गत नवनियुक्त प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौतासमेत गरेको जनाएको छ। विद्यालयको शैक्षिक नेतृत्वलाई सुदृढ गर्दै शिक्षण सिकाइ, व्यवस्थापन, अनुशासन तथा समग्र विद्यालय विकासमा प्रधानाध्यापकको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले करार सम्झौता गरिएको हो।
कार्यसम्पादन करारमार्फत प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक उपलब्धि सुधार, प्रभावकारी व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र विकासमा केन्द्रित भएर काम गर्न थप जिम्मेवार बनाउने गाउँपालिकाको अपेक्षा छ।
गाउँपालिकाले नवनियुक्त सम्पूर्ण प्रधानाध्यापकलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
ईन्द्रावती गाउँ कार्यपालिकाको कार्यालय, नवलपुर, सिन्धुपाल्चोकले प्रधानाध्यापक नियुक्ति तथा कार्यसम्पादन करारलाई विद्यालय सुधारको महत्वपूर्ण कदमका रूपमा अघि बढाएको जनाएको छ।











सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘क’ को सभापति पदमा देवप्रसाद बानियाँले उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीका मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै साझा भावना, सहकार्य, एकता र सबैको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको बानियाँले बताएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई एकता, सम्मान र सुदृढ संगठन निर्माणप्रतिको प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्। पार्टीका अग्रज तथा आदरणीय व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै बानियाँले अग्रज, साथी–सहकर्मी तथा शुभेच्छुकहरूबाट साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गरेका छन्।
साविक कुन्चोक गाविसमा जन्मिएका बानियाँले आफू सानै उमेरदेखि प्रजातन्त्रको आन्दोलनमा सहभागी भएको स्मरण गरेका छन्। उनका अनुसार २०४२ सालको सत्याग्रह आन्दोलनका क्रममा १५ वर्षको उमेरमै जेल जीवन भोगेका थिए।
प्रजातन्त्रका लागि आन्दोलनमा सहभागी हुँदा भोगेको जेल जीवन र राज्यबाट पाएको पीडा अझै पनि मानसपटलमा ताजै रहेको उनले बताएका छन्।
बानियाँ यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेशसभा ‘क’ को सभापति पदमा केशवराज गिरीसँग पराजित भएका थिए। उक्त निर्वाचनमा आफू झिनो मतान्तरले उपविजेता बनेको उल्लेख गर्दै उनले यसपटक पुनः प्रदेश ‘क’ सभापतिमा उम्मेदवारी दिएका हुन्।
बानियाँ इन्द्रावती गाउँपालिका–३ का पूर्ववडाध्यक्षसमेत हुन्। लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले प्रदेश ‘क’ को संगठनलाई एकताबद्ध, सुदृढ र सबैको प्रतिनिधित्व हुने गरी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय तथा हेलो सरकार सेवा रातभर खुला रहने भएका छन्।
सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणका कर्मचारीहरूलाई तैनाथ अवस्थामा राखिएको प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिएका छन्।
प्राधिकरणले आगामी ३६ घण्टा जोखिमपूर्ण रहेको जनाएको छ। सम्भावित विपद्को अवस्था तत्काल सम्बोधन गर्न आवश्यक तयारीसहित सम्बन्धित निकायलाई उच्च सतर्क अवस्थामा राखिएको बताइएको छ।






