
काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३०५.९६ प्रतिशतले वृद्धि भएको हो।
आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ थियो। एक वर्षमै नाफामा भएको उल्लेख्य वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानीमा सुधारसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुनु रहेको बैंकको वित्तीय विवरणले देखाएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले वृद्धि भएको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। यसको सकारात्मक प्रभाव बैंकको सञ्चालन मुनाफामा समेत परेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशतले बढेर ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ रुपैयाँ ९४ पैसा रहेको ईपीएस गत असार मसान्तसम्म २८ रुपैयाँ १७ पैसा पुगेको हो।
यस्तै, बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ रहेको छ। यसअनुसार वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेको छ। असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।
कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर सिंहदरबार परिसरमा अत्याधुनिक नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीले गुणस्तरीय खाद्य सामग्री आम उपभोक्ताको सहज पहुँचमा पुर्याउने उद्देश्यले सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालन गर्न लागेको हो। नवनिर्मित बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार नयाँ बिक्री कक्षबाट उपभोक्ताले कम्पनीका आधिकारिक उत्पादन सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्। बिक्री कक्षमा चामल, दाल, खानेतेल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तुसँगै चिनो, कागुनो, फापर र सिमी जस्ता पौष्टिक स्थानीय उत्पादनसमेत उपलब्ध हुनेछन्।
सिंहदरबार परिसरमा कार्यरत कर्मचारी तथा विभिन्न प्रशासनिक सेवा लिन आउने नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजता हुने कम्पनीले जनाएको छ।
४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल
कम्पनीले वार्षिकोत्सवकै अवसरमा बिहीबारदेखि देशभर ४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ।
सूचना अधिकारी मिश्रका अनुसार बजारमा बढ्दो महँगीको चापलाई केही हदसम्म कम गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले देशव्यापी रूपमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो।
यी पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा उपभोक्ताले प्रत्येक किलो तथा प्रतिलिटरमा ५ रुपैयाँसम्म विशेष छुट पाउनेछन्।
कम्पनीले सुपथ र गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्दै उपभोक्ताको आर्थिक भार कम गर्न सुपथ मूल्य पसल विस्तार गरिएको जनाएको छ।
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो अभियोगमा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले मंगलबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो।
सोही मुद्दामा जोडिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई भने अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसलाई शुद्धीकरण गरेको आरोपमा अनुसन्धान तथा अभियोजन भएको छ। अदालतको पछिल्लो आदेशसँगै उनीहरू मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै रहने भएका छन्।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले चुनावी परिणाम, संसदमा युवा प्रतिनिधित्व र युवा नेतृत्वको मन्त्रिपरिषद्ले मात्रै मुलुकको वर्षौंदेखिको सपना पूरा नहुने बताउनुभएको छ।
बुधबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिना बितिसक्दा पनि सडकमा सरकारप्रतिको आवाज कम नभएको भन्दै अब सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो।
उहाँले समाजमा धैर्यता घट्दै गएकाले नागरिकले तत्काल परिणाम खोज्ने प्रवृत्ति बढेको बताउँदै यसले छिट्टै निराश हुने अवस्था सिर्जना गर्न सक्ने धारणा राख्नुभयो। माइतीघरमा अझै पनि भीड देखिएको उल्लेख गर्दै उहाँले नागरिक निराश भएर त्यहाँ पुगेका हुन् वा विरोध गर्ने बानी परिसकेको हो भन्ने छुट्याउन कठिन भएको बताउनुभयो।
लामिछानेले रास्वपाले संसदमा उमेर समूहको मात्रै नभई युवा पुस्ताको विचारको प्रतिनिधित्व गराउने विषयमा सचेत रहेको बताउनुभयो। नागरिकमा तत्काल परिणाम खोज्ने प्रवृत्ति कायम रहे विकल्प खोज्नुको विकल्प नरहने उल्लेख गर्दै उहाँले आफूहरू विकल्प खोज्न नभई विकल्प बन्न आएको दाबी गर्नुभयो।
उहाँले चार महिनाको अवधिमै सरकारबाट ठूला परिणामको अपेक्षा गर्नु उचित नहुने भन्दै कामको परिणाम देखाउने चुनौती भने सरकारसामु रहेको बताउनुभयो।
लामिछानेले अनुभवबिनाको राजनीतिले केही गर्न सक्दैन भन्ने भाष्य निर्माण भइरहेको भन्दै यस्तो सोचले मुलुकको हित नगर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई अवसर दिएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिनुभयो।

काठमाडाैं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे ।
बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिनुभएकाे छ ।
नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियाे ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले श्रमिक र किसानका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले श्रमिकमाथिको श्रम शोषण, कार्यस्थलमा हुने दुर्व्यवहार तथा कृषि मलको चरम अभावका विषयमा सरकारसँग जवाफ माग गरेकी हुन्।
उनले मुलुकको आर्थिक वृद्धिको तथ्यांक प्रस्तुत गर्दा त्यसको आधारमा रहेका श्रमिकहरूको अवस्थालाई बिर्सन नहुने बताइन्। विशेषगरी कार्पेट, धागो तथा गार्मेन्ट उद्योगमा कार्यरत महिला श्रमिकहरूले दैनिक १२ घण्टासम्म काम गर्दा पनि मासिक १८ हजार रुपैयाँ मात्र पारिश्रमिक पाउने गरेको उनले सदनमा बताइन्।
कार्यस्थलमा श्रमिकहरूले न्यूनतम मानवीय सुविधासमेत नपाएको भन्दै ओलीले श्रम निरीक्षणलाई औपचारिकतामा सीमित नराखी नियमित, स्वतन्त्र र परिणाममुखी बनाउन सरकारसँग माग गरिन्। साथै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो।
‘नेपालको नाम विश्व बजारमा पुर्याउने श्रमिकहरू नै राज्यको श्रम निरीक्षणबाट ओझेलमा छन्,’ उनले भनिन्, ‘कार्यस्थलमा हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार र रोजगारी गुम्ने डरले आवाज उठाउन नसक्ने श्रमिकका पक्षमा सरकार मौन रहनु दुःखद हो।’
त्यस्तै, सांसद ओलीले देशभर देखिएको कृषि मलको अभावप्रति समेत सरकारको ध्यानाकर्षण गराइन्। सरकारी गोदाममा मल भएर मात्र नहुने भन्दै उनले किसानको खेतसम्म समयमै मल पुग्नुपर्ने बताइन्।
उनले कुन जिल्ला र पालिकामा कति मल पठाइएको हो भन्ने विवरण सरकारले सार्वजनिक गर्नुपर्ने माग गरिन्।
कृषिमन्त्रीले सदनमा मलको अभाव नहुने आश्वासन दिए पनि व्यवहारमा किसानहरू मलका लागि छटपटाइरहेको ओलीले बताइन्। सरकारी तथ्यांकमा ५ लाख ६१ हजार मेट्रिक टनभन्दा बढी मल आपूर्ति भएको देखिए पनि किसानको खेतसम्म मल पुग्न नसकेको भन्दै उनले वितरण प्रणालीमा गम्भीर कमजोरी वा अनियमितता हुनसक्ने प्रश्न उठाइन्।
किसानले समयमा मल नपाउने र श्रमिकले उचित पारिश्रमिक तथा सुरक्षित कार्यस्थल नपाउने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने उनको जोड थियो।
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनसरी र सिरहा घटनाका मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे।
हेर्नुस् निर्णयहरू
१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर मा पूर्ण रूपमा छुट प्रदान गर्ने ।
२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई सहिद घोषणा गर्ने।
३. पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने।
४.वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने।
५. पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिकमा आयोजना हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ अर्थात् कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ।
प्रतियोगिताका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ। सहभागी आठवटै फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन्।
एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।
तेस्रो संस्करणमा पनि आठ फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुनेछ। उपाधिका लागि टोलीहरूले नेपाली तथा विदेशी खेलाडी सम्मिलित बलियो टोली निर्माणमा जोड दिइरहेका छन्।
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीको सहभागितामा ‘भिजन टु भ्यालु कन्क्लेभ’ सम्पन्न गरेको छ।
पोखरास्थित ग्राण्ड होटलमा साउन १९ र २० गते आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष रतनलाल केडिया, सञ्चालक भरतलाल तोदी, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० शिवनाथ पाण्डे, डेपुटी सीईओ निराजन कँडेलसहित उच्च पदस्थ कर्मचारीको सहभागिता रहेको थियो।
कम्पनीका देशभर रहेका १६९ वटै शाखाका प्रमुख, मार्केटिङ कर्मचारी तथा विभिन्न विभागीय प्रमुखहरू कन्क्लेभमा सहभागी भएका थिए।
कन्क्लेभमा कम्पनीको वार्षिक व्यावसायिक समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षका लागि व्यवसायिक रणनीति तय गर्ने विषयमा छलफल भएको थियो। कम्पनीले शाखा प्रमुखहरूलाई एकै ठाउँमा भेला गराई अनुभव आदानप्रदान तथा आगामी व्यवसायिक योजनाबारे छलफल गरेको जनाएको छ।
कार्यक्रममा सीईओ शिवनाथ पाण्डेले बीमाको बजार व्यवस्थापन, बीमितको हित, अन्डरराइटिङको महत्व, सम्पत्ति शुद्धीकरण तथा बीमा फ्रड न्यूनीकरणलगायत विषयमा प्रशिक्षण दिएका थिए।
कन्क्लेभमा सहभागी शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरूले आफ्ना अनुभव, कार्यस्थलमा देखिएका चुनौती तथा व्यवसाय विस्तारका नयाँ योजनाबारे धारणा राखेका थिए। साथै, आपसी अनुभव आदानप्रदानले सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै उत्कृष्ट बीमा सेवा प्रदान गर्न प्रेरणा मिलेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कन्क्लेभले शाखागत अनुभव, व्यवसायिक सोच र आगामी रणनीतिलाई एकीकृत गर्दै कम्पनीको सेवा तथा व्यवसाय विस्तारमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।








काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्ममा ११ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ६८ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।
कम्पनीका अनुसार विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि तथा वित्तीय खर्चमा आएको कमीले नाफा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी २३.३४ प्रतिशतले बढेर ४३ करोड ११ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३०।३४ प्रतिशत र सञ्चालन मुनाफा ५१.१३ प्रतिशतले वृद्धि भएको छ।
यता, कम्पनीको वित्तीय खर्च भने २१.
४० प्रतिशतले घटेको छ। वित्तीय खर्चमा आएको कमी र सञ्चालन आम्दानीमा भएको सुधारले कम्पनीको समग्र नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।
नाफामा फर्किएसँगै कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० समेत धनात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म ६८ पैसा ऋणात्मक रहेको ईपीएस गत आर्थिक वर्षको अन्त्यसम्म ११ रुपैयाँ १३ पैसा पुगेको छ।
गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ५७ पैसा कायम भएको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५७ लाख १५ हजार रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत् बिक्री आम्दानीमा वृद्धि, सञ्चालन मुनाफामा सुधार र वित्तीय खर्चमा कमी आएपछि माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको देखिएको छ।






