२०८३ कार्तिक ५ बुधबार
२०८३ कार्तिक ५ बुधबार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ।

चीनको ग्वाङ्झाउ सहरमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताउनुभयो।

उहाँले देशमै रोजगारी सिर्जना गर्ने तथा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने रणनीति कार्यान्वयन भइरहेको उहाँको भनाइ छ।

मन्त्री वाग्लेले प्रवासी नेपालीलाई पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।

“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्,” उहाँले भन्नुभयो, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ।”

सरकारले बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीको वातावरण सुधार गर्न काम गरिरहेको मन्त्री वाग्लेले बताउनुभयो। सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।

सरकारको आम्दानी बढाउन कर प्रणालीमा समेत सुधार गरिएको उल्लेख गर्दै मन्त्री वाग्लेले बजेटमार्फत आर्थिक नीतिमा नयाँ दिशातर्फ अघि बढ्ने प्रयास गरिएको बताउनुभयो। उहाँले पहिलो वर्ष सुधारको सुरुआत भएको र आगामी दिनमा त्यसको परिणाम देखिँदै जाने दाबी गर्नुभयो।

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास वितरण सुरु गरेको छ।

नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि विभिन्न ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो। टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास बिक्री भइरहेको छ।

निगमका अनुसार बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको छ। ग्यास लिन बिहानैदेखि तोकिएका केन्द्रहरूमा उपभोक्ताको ठूलो भीड लागेको छ। बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेको निगमका कर्मचारी भीमप्रसाद पौडेलले जानकारी दिएका छन्।

निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने व्यवस्था मिलाएको छ। बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। सो केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले बताए।

ग्यास अभावको अवस्थालाई सहज बनाउन निगमले ग्यास डिपोसँग समन्वय गरी वितरण व्यवस्थापन गरिरहेको जनाएको छ। साथै, ग्यासको कालोबजारी, लुकाउने तथा अनावश्यक भण्डारण गर्ने कार्यविरुद्ध अनुगमनसमेत तीव्र पारिएको छ।

यद्यपि, तोकिएका स्थानबाट वितरण सुरु भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा लामो समय लाइन बसेर पालो आएपछि पनि वितरण केन्द्रमै ग्यास सकिँदा उपभोक्ताहरू थप समय कुरेर बस्न बाध्य भएका छन्। ग्यास आउने आशामा दिनभर लाइनमै बस्नुपरेको उनीहरूको गुनासो छ।

निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको समय र स्थानमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ।

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नाफा घटे पनि बीमा व्यवसाय र जीवन बीमा कोषको आकार भने बढेको छ।
कम्पनीले गत आर्थिक वर्षमा ३१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा समीक्षा अवधिमा कम्पनीको नाफा ४१.९० प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको जीवन बीमा कोष १६.२१ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, कम्पनीले समीक्षा अवधिमा १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँको तुलनामा कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेको हो।
कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६.१७ प्रतिशतले बढेर १८ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष खुद बीमाशुल्क आर्जन १७ अर्ब २६ करोड रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४७ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड ६४ लाख रुपैयाँ रहेको छ। कम्पनीको अन्य इक्विटी भने २ अर्ब १३ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
हिमालयन लाइफको चुक्ता शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.४८ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको ५.९८ रुपैयाँको तुलनामा घटेको हो।
कम्पनीको पीई रेसियो ९२.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९३.३१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

काठमाडौँ।
नेपाली कांग्रेसले बदलिँदो राजनीतिक, आर्थिक तथा प्रविधिगत परिवेशलाई ध्यानमा राख्दै आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा व्यापक परिमार्जन गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौँमा आयोजित पार्टीको इतर पक्षको राष्ट्रिय भेलामा पूर्वअर्थमन्त्री एवं नेता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा’ नामक प्रस्ताव प्रस्तुत गर्दै उक्त अवधारणा अघि सार्नुभएको हो।
​प्रस्ताव प्रस्तुत गर्दै नेता डा. महतले बीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादको मूल मर्मलाई कायम राख्दै नीतिहरूलाई समयसापेक्ष, व्यावहारिक र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो।
​निजी क्षेत्रलाई नेतृत्वदायी भूमिका, राज्य सहजकर्ता
​कांग्रेसको नयाँ नीतिगत प्रस्तावमा समग्र अर्थतन्त्रको विकास र विस्तारमा निजी क्षेत्रलाई प्रमुख (नेतृत्वदायी) भूमिका दिने उल्लेख छ। सरकारलाई भने सहजकर्ता, उत्प्रेरक र नियामक भूमिकामा सीमित गरिनेछ। निजी क्षेत्रको पहुँच नपुग्ने, लगानी हुन नसक्ने वा सर्वसुलभ सेवा उपलब्ध गराउन कठिन हुने क्षेत्रमा मात्र राज्यले प्रत्यक्ष भूमिका निर्वाह गर्ने नीति लिइने दस्ताबेजमा समेटिएको छ।
​युवा असन्तोष सम्बोधन र रोजगारी सिर्जना
​युवा वर्गमा देखिएको असन्तोष र निराशाको मुख्य कारण रोजगारीको अभाव रहेको निष्कर्ष निकाल्दै कांग्रेसले स्वदेशमै गुणस्तरीय रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।
​यसका लागि:
​निजी क्षेत्रको लगानीमा बाधा पुर्‍याउने पुराना कानुनहरूमा सुधार गर्ने।
​साना तथा नयाँ उद्यमीका लागि परियोजनामा आधारित कर्जा (Project-based loans) उपलब्ध गराउने।
​व्यावसायिक कसुरमा आर्थिक वा वित्तीय जरिवानालाई प्राथमिकता दिने व्यवस्था गर्ने।
​कृषि, ऊर्जा र सूचना प्रविधिमा नयाँ रणनीति
​कृषि: किसानलाई प्रोत्साहन गर्न अनुदानको रकम सिधै उनीहरूको बैंक खातामा (Direct Benefit Transfer) पठाउने, आयातित कृषि उपजमा भन्सार दर बढाउने र बाँझो जमिनलाई लिजमा दिएर व्यावसायिक तथा कर्पोरेट कृषिलाई प्रवर्द्धन गर्ने।
​ऊर्जा: जलाशययुक्त जलविद्युत् आयोजनाहरूमा वैदेशिक लगानी भित्र्याउने, आन्तरिक खपत बढाउने र भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्न आवश्यक प्रसारण लाइन निर्माणलाई तीव्रता दिने।
​सूचना प्रविधि (IT): शिक्षित युवाका लागि प्रविधिलाई रोजगारीको मुख्य माध्यम बनाउने, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग बढाउने र डाटा सुरक्षाका लागि कडा कानुनी ढाँचा तयार गर्ने।
​पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार
​पर्यटन क्षेत्रको विकासका लागि धार्मिक, साहसिक र ‘वेडिङ डेस्टिनेसन’ (Wedding Destination) का रूपमा नेपाललाई प्रवर्द्धन गर्ने प्रस्ताव गरिएको छ। साथै, नेपाल वायुसेवा निगमको सञ्चालनलाई प्रभावकारी बनाउन विदेशी वायुसेवा कम्पनीहरूसँग रणनीतिक साझेदारी गर्ने योजना अघि सारिएको छ।
​शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन राज्यले विशेष दायित्व लिनुपर्ने निष्कर्ष निकाल्दै विद्यालयको शैक्षिक नतिजालाई शिक्षकको सेवा-सुविधासँग जोड्ने, खुला प्रतिस्पर्धाबाट शिक्षक चयन गर्ने र नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने नीति लिइने उल्लेख छ।
​यसैगरी, वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र स्वीकार गर्ने र गैरआवासीय नेपाली (NRN) हरूको ज्ञान, सीप र पुँजीलाई मुलुकको विकासमा परिचालन गर्ने नीति कांग्रेसले अघि सारेको छ।

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो। यससँगै एक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ।
गत आर्थिक वर्षमा कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोष ८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४ लाख ५५ हजार रुपैयाँ र अन्य इक्विटी ९१ करोड ३७ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, कम्पनीको बीमा कोषको आकार पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा वर्षमा बीमा कोष ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कोष २ अर्ब ८० करोड १९ लाख रुपैयाँ रहेकोमा १७७.२९ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष २ अर्ब ६० करोड १४ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क समीक्षा अवधिमा ८.९१ प्रतिशतले बढेको हो।
त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो रकम १ अर्ब २७ करोड ८३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद बीमाशुल्क आर्जन २४.७९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
नाफामा भएको सुधार, बीमा कोषको उल्लेख्य वृद्धि तथा बीमाशुल्क आर्जनमा देखिएको बढोत्तरीले ओरिएन्टल इन्स्योरेन्सको समग्र वित्तीय अवस्थामा सुधार आएको देखाएको छ।

काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।

मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ।

शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

सिन्धुपाल्चोकस्थित ऐसेलुखर्क माध्यमिक विद्यालयमा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरलाई हराभरा, स्वच्छ तथा वातावरणमैत्री बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।
​कृषि प्राविधिक धारसमेत सञ्चालित यस विद्यालयमा विद्यार्थीहरूमा कृषि कर्मप्रति विश्वास र रुचि जगाउने उद्देश्यले विशेष शैलीमा वृक्षरोपण गरिएको छ। कार्यक्रममा कृषि विषय अध्ययनरत विद्यार्थीहरूकै नामबाट बिरुवा रोपिएको छ भने ती बिरुवाहरूको नियमित हेरचाह र संरक्षण गर्ने पूर्ण जिम्मेवारी सम्बन्धित विद्यार्थीलाई नै दिइएको छ।
​वृक्षरोपणका क्रममा विद्यालय हाताभित्र कागती, वडहर, तेजपत्ता र रुद्राक्षलगायतका विभिन्न उपयोगी प्रजातिका बिरुवाहरू रोपिएका छन्।
​इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सामाजिक व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
​कार्यक्रमका लागि आवश्यक बिरुवाहरू विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका स्थानीय रामप्रसाद गौतम र कृषि उद्यमी तोयानाथ पौडेलले निःशुल्क रूपमा उपलब्ध गराउनुभएको थियो।
​बिरुवा रोपेर मात्र नपुग्ने भएकाले तिनको संरक्षण र गोडमेलमा निरन्तर ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। आफ्नै नाममा रोपिएका बिरुवाको संरक्षण आफैँले गर्नुपर्ने भएपछि विद्यार्थीहरूमा वातावरण संरक्षण र व्यावहारिक कृषि शिक्षाप्रतिको चेतना अझ अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ मा स्थानीय महिलाहरूलाई साडी वितरण गरिएको छ। शुक्रबार पुष्प गंगा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच २०० जना महिलालाई साडी वितरण गरिएको हो।
​इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशिनाथ आचार्यले कार्यक्रमका सहभागी महिलाहरूलाई साडी हस्तान्तरण गर्नुभएको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान र सामाजिक सहभागिता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। महिलाहरूको सशक्तीकरणबिना समाजको समग्र विकास असम्भव रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि महिला लक्षित, उनीहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणका विभिन्न उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
​स्थानीय महिला तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा साडी पाएपछि स्थानीय महिलाहरूले खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका थिए।

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–५ स्थित पुष्प गंगा माध्यमिक विद्यालयमा आज महिलाहरूलाई साडी वितरण कार्यक्रम आयोजना हुँदैछ।
इन्द्रावती गाउँपालिका–५ का वडा अध्यक्ष शशीनाथ आचार्यका अनुसार स्थानीय महिलाहरूलाई लक्षित गरी २०० थान साडी वितरण गर्न लागिएको हो।
वडा अध्यक्ष आचार्यले महिलाहरूको सम्मान तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले साडी वितरण गर्न लागिएको जानकारी दिनुभयो।
कार्यक्रममा स्थानीय महिला तथा जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले व्यवसाय विस्तारसँगै नाफा, बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा उल्लेख्य वृद्धि गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ। अघिल्लो वर्ष ईपीएस ७ रुपैयाँ ५३ पैसा थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतभन्दा बढीले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क गत आर्थिक वर्षमा बढेर ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ।
यस्तै, लगानी, कर्जा तथा अन्य स्रोतबाट प्राप्त आय भने ४.४६ प्रतिशतले घटेर १ अर्ब ५० करोड ६५ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो आय १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ थियो। कम्पनीको कुल आम्दानी भने बढेर ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको जीवन बीमा कोषमा करिब ३० प्रतिशत वृद्धि भएको छ। अघिल्लो वर्ष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष गत आर्थिक वर्षमा बढेर २५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको कुल सम्पत्ति पनि बढेको छ। अघिल्लो वर्ष २६ अर्ब ५७ करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ३२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा र सोल्भेन्सी अनुपात १.५७ रहेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ छ।
यस अवधिमा महाविपत्ति कोष १४ करोड ७८ लाख रुपैयाँबाट बढेर १८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। भने जगेडा कोष ५३ करोड २७ लाख रुपैयाँबाट घटेर ३५ करोड ९८ लाख रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ।
समग्रमा, बीमाशुल्क आर्जन, जीवन बीमा कोष, कुल सम्पत्ति तथा खुद नाफामा भएको वृद्धिले सानिमा रिलायन्स लाइफको व्यवसाय विस्तार र वित्तीय अवस्थामा सुधार देखिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।