२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा नेता वर्षमान पुन ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले को अभिव्यक्तिले संसदको गरिमा र सांसदहरूको सम्मानमाथि प्रश्न उठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्रीले सांसदहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अस्वीकार्य रहेको बताउनुभयो। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा धम्कीपूर्ण शैली अपनाइनु लोकतान्त्रिक अभ्यास र संसदीय मर्यादाविपरीत भएको उहाँको भनाइ थियो।

पुनले करका दर हेरफेरसम्बन्धी विवादमा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा पनि यस्ता घटना भएको भए त्यसको समेत अनुसन्धान हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले कुनै पनि बहानामा संसदलाई कमजोर बनाउने वा सांसदहरूको भूमिकालाई अवमूल्यन गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित विषयमा संसदीय समितिमार्फत विस्तृत छानबिन गर्न सरकारसँग माग गर्नुभयो।

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका वडा नं. ८ को जयामिरेमानेमा नागरिक आरोग्य केन्द्रको उद्घाटनसँगै सेवा सञ्चालनमा आएको छ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक समारोहका बीच केन्द्रको उद्घाटन गर्दै स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताउनुभयो। उद्घाटनसँगै केन्द्रबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह सुरु भएको गाउँपालिकाले जनाएको छ।
स्थानीय बासिन्दालाई आवश्यकताको आधारमा उपलब्ध स्वास्थ्य सेवा उपयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ। आरोग्य केन्द्र सञ्चालनमा आएपछि वडा नं. ८ लगायत आसपासका क्षेत्रका नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
इन्द्रावती गाउँपालिकाले स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सिन्धुपाल्चोक ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित उक्त कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे विस्तृत जानकारी आदानप्रदान गरिएको थियो।
​उद्योग र व्यवसाय प्रवर्द्धनमा जोड
​कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयले व्यवसाय दर्ता, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, र बजार अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उद्योग, वाणिज्य तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे प्रकाश पार्दै विभिन्न स्थानीय तहमा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो। साथै, इन्द्रावती गाउँपालिका–१० मा चिउरा तथा टपरी उद्योग निर्माणको कार्य भइरहेको समेत उहाँले जानकारी दिनुभयो।
​खाद्य स्वच्छता र जनस्वास्थ्यको चुनौती
​खाद्य स्वच्छता तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख मनिषा चापागाईंले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँका अनुसार खाद्य स्वच्छतामा जैविक, भौतिक तथा रासायनिक जोखिम रहने गर्दछ।
​विश्व स्वास्थ्य संगठन (WHO) को तथ्यांक:
प्रत्येक वर्ष विश्वभर करिब ६० करोड मानिस अस्वस्थ खाद्य पदार्थका कारण बिरामी पर्ने गरेका छन् र तीमध्ये ५४ प्रतिशतको मृत्यु झाडापखालाका कारण हुने गरेको छ।
​चापागाईंले मानिसले उपभोग गर्ने खाद्य पदार्थ मात्र नभई पशुपन्छीका दानाको समेत अनुगमन गर्ने जिम्मेवारी आफ्नो कार्यालयको रहेको प्रष्ट पार्नुभयो। ग्रामीण क्षेत्रमा खाद्य स्वच्छता सम्बन्धी समस्या अझ बढी देखिने भएकाले नियमित अनुगमन र उपभोक्ता सचेतना अभिवृद्धि आवश्यक रहेको उहाँको भनाइ थियो।
​स्थानीय जनप्रतिनिधिहरूको प्रतिबद्धता
​शोभाना तामाङ (गाउँपालिका उपाध्यक्ष): “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै उहाँले उपभोक्ता हित संरक्षणका लागि गठित अनुगमन समितिलाई सम्बन्धित कार्यालयबाट आवश्यक सहयोगको अपेक्षा राख्नुभयो।
​झमकनाथ नेपाल (गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि): खाद्य स्वच्छता, उपभोक्ता अधिकार तथा बजार व्यवस्थापनका विषयमा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सबैको सक्रियता आवश्यक रहेको बताउनुभयो। उपभोक्तालाई सचेत बनाउन नसकेसम्म कानुन र मापदण्डको प्रभावकारी कार्यान्वयन हुन नसक्ने भन्दै उहाँले सचेतनामूलक कार्यक्रम समुदायका सबै तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो।
​आगामी योजना
​कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा इन्द्रावती गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निकट भविष्यमै गाउँपालिकाभित्रका विभिन्न बजार क्षेत्रहरूमा संयुक्त बजार अनुगमन सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट GPA हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवं शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिकागत, जिल्लागत उत्कृष्ट GPA प्राप्त गरेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नगद सहित मेडल, सम्मानपत्र, खादा तथा बधाई ज्ञापन गरिएको थियो। जिल्लाका अन्य उत्कृष्ट नतिजा ल्याउने १६ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभयो।

त्यसैगरी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सिर्जनशीलता र नैतिक शिक्षातर्फ अग्रसर हुन प्रेरित गर्नुभयो।

अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले विद्यार्थीहरूको सफलतामा अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकालाई सकारात्मक वातावरण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलीले मन्तव्य राख्दै शिक्षक, अभिभावक तथा विद्यालयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको सफलतामा परिवार, शिक्षक र समाजको संयुक्त योगदान रहने धारणा व्यक्त गर्नुभयो।

लेखनाथ भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो। कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका अध्यक्षहरू, पत्रकार तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए।

चौतारा, सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार रुपक कोइरालालाई यस वर्षको “दुर्गाप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार” प्रदान गरेको छ।
महासंघको साधारणसभाको अवसरमा चौतारामा आयोजित विशेष कार्यक्रममा जिल्लाका विभिन्न पत्रकार तथा सञ्चारकर्मीलाई विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
यसैक्रममा पवित्रकुमार खड्कालाई “सिन्धु पत्रकारिता सम्मान” तथा “राम केशी स्मृति पत्रकारिता सम्मान” बाट होमनाथ कट्टेल ‘किशोर’ र ज्ञानेन्द्र प्रसाद तिमल्सिना सम्मानित भएका छन्।
त्यस्तै, कञ्चन ज्ञानेन्द्र स्मृति पुरस्कारबाट दिनेश दुलाल, रामप्रसाद घिमिरे स्मृति पत्रकार पुरस्कारबाट जगन्नाथ दुलाल, कृष्णमाया घिमिरे स्मृति पुरस्कारबाट शर्मिला ठकुरी, नानीराम नेपाल स्मृति क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट चित्र मिजार, जुगल नवोदित पत्रकारिता पुरस्कारबाट अनिष तिवारी तथा सर्वपक्ष युवा पत्रकारिता पुरस्कारबाट प्रकाश सुन्दास पुरस्कृत भएका छन्।
महासंघले मोफसल पत्रकारिताको प्रवर्द्धन, व्यावसायिक पत्रकारिताको विकास तथा श्रमजीवी पत्रकारहरूको मनोबल उच्च राख्न हरेक वर्ष विभिन्न विधामा पुरस्कार तथा सम्मान वितरण गर्दै आएको जनाएको छ।

काठमाडौँको बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८२ सालको एस.ई.ई. पूरा गरेका विद्यार्थीहरूलाई एक समारोहका बीच अभिनन्दन गरेको छ । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाको अध्यक्षता तथा प्रा.डा. राजाराम प्रधानाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा अरुणिमा मा.वि. बौद्धका प्रिन्सिपल बुद्धिप्रसाद रेग्मीले उपस्थित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उक्त अवसरमा उहाँले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने कुरा उल्लेख गर्नुभयो । अरुणिमा मा.वि., बौद्धका १०४ जना, नव अरुणिमा मा.वि., आरुबारीका ४८ जना र अरुणिमा शिक्षा सदन मा.वि., महाङ्कालका ३० जना विद्यार्थीहरू गरी जम्मा १८२ जना विद्यार्थीहरू उक्त समारोहमा अभिनन्दित भएका थिए । सो अवसरमा उच्चतम जिपिए प्राप्त गर्ने विद्यार्थीहरू अदिती श्रेष्ठ, आयुषा न्यौपाने, तेन्जिला लामा, मानुषी चालिसे र समिप बुढाथोकी (नव अरुणिमा मा.वि., आरुबारी), प्रनभ पौडेल (अरुणिमा शिक्षा सदन मा.वि. महाङ्काल) र रोनिका प्रधान (अरुणिमा मा.वि., बौद्ध) लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन समेत गरिएको थियो । सो समारोहमा प्र्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले तीनओटै विद्यालयका एस.ई.ई. ग्रेजुयट्स्हरूलाई हार्दिक बधाई ज्ञापन गर्दै प्र्रतिष्ठानका समग्र शैक्षिक कार्यक्रमबारे प्रकाश पार्नुभएकोे थियो भने प्रमुख अतिथिले शिक्षाक्षेत्रमा अरुणिमाको योगदानको प्रशंसा गर्नुका साथै सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै नव अरुणिमा मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद बरालले कक्षा ११ र १२ मा अध्ययन गर्नका निम्ति उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो हुन सल्लाह तथा सुझाव दिँदै अरुणिमा माध्यमिक विद्यालय (कक्षा ११ र १२) पनि यसका निम्ति उचित गन्तव्य रहेको कुरा उल्लेख गर्नुभयो । अरुणिमा अलुम्नाईका अध्यक्ष जितेन्द्र श्रेष्ठले अरुणिमा अलम्नाई एसोसिएसनले प्रतिष्ठानमा पु¥याएको योगदानका बारेमा चर्चा गर्दै एस.ई.ई. ग्रेजुट्सहरूलाई बधाई प्रदान गर्नुका साथै जिन्दगीका धेरै पाइलाहरू पार गर्नका निम्ति हिम्मतका साथ लाग्न सल्लाह दिनुभयो । कार्यक्रमका अध्यक्षले अरुणिमा शैक्षिक प्रतिष्ठानलाई राष्ट्रकै उत्कृष्ट शैक्षिक गुठीका रुपमा स्थापित गर्ने उद्देश्यका साथ अघि बढिरहेको जानकारी गराउँदै एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सहित सिँगो प्रतिष्ठान परिवारलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै उपस्थित सम्पूर्णमा आभार प्रकट गर्नुभयो । एस.ई.ई. ग्रेजुयट्सका तर्फबाट तीनवटै विद्यालयका सर्वोत्कृष्ट नतीजा प्राप्त गर्ने छात्र–छात्राहरूले आफ्ना अनुभवहरू बाँड्दै सफलतामा योगदान पु¥याउने प्रतिष्ठान परिवार र अभिभावकवर्ग सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । विद्यार्थीहरूका नृत्य तथा साङ्गीतिक प्रस्तुतिले समारोह थप रोचक बन्न पुगेको थियो । विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा अतिथिहरू गरी ५०० भन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण नव अरुणिमा मा.वि.का शिक्षक पार्वती राउतले गर्नुभएको थियो ।

प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
वैशाख ३१, २०८३ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्‌मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले नै दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्पराविपरीत भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले संसद्‌मा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुने पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने बताउनुभयो । यदि प्रधानमन्त्री उत्तर दिन उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक परम्परा छ नि, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफैँ आउनुपर्छ । अब यो काग कराइरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसाबले हामी संसद्‌लाई चलाउन सक्दैनौँ ।”

उहाँले देश विकास गर्न गफले मात्रै नहुने बताउनुभयो । उहाँले सरकार लगायत सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीति तथा कार्यक्रममा सबै सांसदहरूको सुझाव समेट्नुपर्ने भए पनि एकलौटी ल्याइएको गुनासो गर्नुभयो । नीति तथा कार्यक्रममा संसद्‌मा पर्याप्त छलफल हुन नसकेको उहाँको भनाइ छ ।

हेलम्बु गाउँपालिका–२ किउलमा प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजना कार्यक्रममा स्थानीय रैथाने बालीको संरक्षण, कृषि जैविक विविधताको पहिचान, संवर्द्धन तथा प्रवर्द्धन, अर्गानिक खेती विस्तार, किसानको सक्रिय सहभागिता वृद्धि तथा सामुदायिक बिउ बैंक स्थापना गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको हो ।
हेलम्बु क्षेत्र परम्परागत खेती प्रणाली, स्थानीय बिउबिजन तथा विविध कृषि उत्पादनका दृष्टिले समृद्ध मानिन्छ । तर पछिल्ला वर्षहरूमा आधुनिक बिउको बढ्दो प्रयोगसँगै स्थानीय जातका धान, मकै, कोदो, फापर, सिमी, तरकारी तथा अन्य रैथाने बालीहरू लोप हुने जोखिम बढ्दै गएकाले मेला संरक्षणमुखी अवधारणासहित आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलाको अवलोकन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बिउबिजन, रैथाने बाली र अर्गानिक उत्पादनहरू हेलम्बुको पहिचान र सम्पत्ति भएको उल्लेख गर्दै यस्ता स्रोतहरूको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि जैविक विविधता जोगाउनु भनेको केवल उत्पादन बचाउनु मात्र नभई स्थानीय संस्कृति, ज्ञान र परम्परागत कृषि प्रणालीको संरक्षण गर्नु पनि भएको धारणा राख्नुभयो । अध्यक्ष शेर्पाले आगामी दिनमा सामुदायिक बिउ बैंक स्थापना, स्थानीय बिउको संकलन तथा संरक्षण र अर्गानिक खेती विस्तारलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि विज्ञ दिपक रिजालले स्थानीय बिउ हराउँदै जाँदा त्यससँग जोडिएको कृषि ज्ञान र पुस्तान्तरणको अभ्यास समेत हराउने जोखिम रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरण, खाद्य सुरक्षा सुदृढीकरण र किसानको आत्मनिर्भरताका लागि कृषि जैविक विविधता संरक्षण आवश्यक रहेको उल्लेख गर्दै सामुदायिक बिउ बैंक स्थापना अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।
त्यस्तै हेलम्बु गाउँपालिका–२ का वडा अध्यक्ष पेम्बा लामाले किसानले उत्पादन गरेका स्थानीय तथा अर्गानिक वस्तुलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी दिनमा स्थानीय हाटबजारलाई व्यवस्थित रूपमा सञ्चालन गरी उत्पादनको बजारीकरणमा जोड दिइने बताउनुभयो । कृषि जैविक विविधता संरक्षणमा समुदायको सहभागिता सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय तह, किसान र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमअन्तर्गत आयोजित जैविक विविधतासम्बन्धी गीत प्रतियोगिता र कृषि प्रदर्शनी प्रतियोगितामा सहभागी समूहहरूले स्थानीय बिउबिजन, रैथाने उत्पादन, अर्गानिक खेती र संरक्षणका विषयलाई प्रस्तुत गरेका थिए । दुवै विधाका विजेताहरूलाई समान पुरस्कार व्यवस्था गरिएको थियो । प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीयले ८ हजार रुपैयाँ, तृतीयले ६ हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने समूहले ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
गीत प्रतियोगितामा इच्छेस्वरी महिला बचत तथा कृषि समूह प्रथम, ह्योल्मो आमायाङ्री कृषक समूह हेलम्बु–१ तिम्बु द्वितीय, फुलबारी महिला कृषक समूह हेलम्बु–६ तृतीय तथा सेराबेसी महिला समूह हेलम्बु–३ सान्त्वना भएका छन् ।
त्यसैगरी कृषि प्रदर्शनीतर्फ इच्छेस्वरी महिला समूह हेलम्बु–६ थापाटार र गंगा महिला कृषक समुह पहिलो भएको छ । सेराबेसी महिला कृषक समूह द्वितीय, जमुना महिला कृषक समूह तृतीय तथा मनकामना महिला कृषक समूह हेलम्बु–७ सान्त्वना भएका छन् ।
गाउँपालिकाभित्रका २८ वटा समूह सहभागी रहेको मेलामा स्थानीय तरकारी, रैथाने बिउबिजन, लोपोन्मुख कृषि सामग्री, अर्गानिक उत्पादन तथा परम्परागत कृषि प्रणालीसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनमा राखिएका थिए । मेलाले स्थानीय उत्पादन संरक्षणसँगै यसको अभिलेखीकरण, बजारीकरण र प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कलाकार राजेन्द्र भण्डारी, स्मृति गौतम र बिनिता भण्डारी लगायतले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा जष्ट नेपाल फाउन्डेसनका कार्यकारी निर्देशक गोपाल लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कृषि जैविक विविधताको संरक्षण, स्थानीय बिउबिजनको अभिलेखीकरण, रैथाने बालीको प्रवर्द्धन, अर्गानिक उत्पादन विस्तार तथा भविष्यमा सामुदायिक बिउ बैंक स्थापना गर्ने दीर्घकालीन लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको संस्थाका कर्मचारी श्याम शर्मा लामिछानेले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम अधिकार तथा मानव बेचबिखनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुनिता फाउण्डेशनद्वारा मेलम्ची नगरपालिका–४, थकनी, बसेरी, सिन्धुपाल्चोकमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य समुदायका व्यक्तिहरूलाई श्रम अधिकार, सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखनका जोखिम तथा त्यसबाट बच्ने उपायबारे सचेत गराउनु रहेको थियो ।
कार्यक्रममा श्रमिकका आधारभूत अधिकार, वैदेशिक रोजगारीका क्रममा हुन सक्ने ठगी तथा शोषणबाट जोगिने उपाय, मानव बेचबिखनको परिभाषा र बदलिँदो स्वरूपबारे विस्तृत छलफल गरिएको थियो। साथै लैङ्गिक असमानता, विभेद, हिंसा तथा यस्ता समस्याले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिर्जना गर्ने मानव बेचबिखनका जोखिमहरूबारे पनि जानकारी प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न समूहमा आबद्ध महिला, पुरुष, युवा, विद्यालयमा अध्ययनरत बालबालिका, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा किशोरकिशोरीहरूको समावेशी तथा अर्थपूर्ण सहभागिता रहेको थियो। समुदायमा मानव बेचबिखनविरुद्ध यस्ता छलफल कार्यक्रम कम हुने भएकाले सहभागीहरूले विषयप्रति विशेष चासोका साथ उपस्थिति जनाएको बताएका थिए। सहभागीहरूले कार्यक्रममार्फत धेरै नयाँ जानकारी तथा सिकाइ प्राप्त भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गरेका थिए ।
मानव बेचबिखनविरुद्ध सञ्चालित उक्त कार्यक्रमको सहजीकरण परियोजना अधिकृत संगिता नेपालीले गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सुरक्षित, सचेत र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै एकजुट हुन आह्वान गरिएको थियो ।

काठमाडौँ । चन्द्रागिरि नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगर पालिकाबिच न्यायिक समितिका असल अभ्यासहरू आदान–प्रदान गर्ने उद्देश्यले अन्तरपालिका अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका कानुन शाखा प्रमुख चिरञ्जीवी खड्काले चन्द्रागिरि नगरपालिकाले न्यायिक समितिमार्फत अवलम्बन गरेका असल अभ्यासहरू प्रस्तुत गर्नुभयो। उहाँले न्यायिक समितिको कार्यसम्पादनलाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि निर्माण, नियमित इजलास सञ्चालन, प्रशिक्षित मेलमिलापकर्ताको परिचालन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिनुभयो। चन्द्रागिरि नगरपालिकाले न्यायिक समिति सम्बन्धी कार्यविधि ऐन, २०७५ लागू गरी स्थानीय विवाद समाधानलाई संस्थागत बनाएको बताउनुभयो ।

उहाँका अनुसार चन्द्रागिरि नगरपालिकाले घर-जग्गा, बाटो, सिमाना विवाद, घरेलु हिंसा लगायतका उजुरीहरूलाई मेलमिलाप र संवादमार्फत छिटो तथा प्रभावकारी रूपमा समाधान गर्दै आएको छ। 

त्यसै गरी, मेलम्ची नगरपालिकाका तर्फबाट न्यायिक सहजकर्ता अस्मिता ढकाल अर्यालले मेलम्ची नगरपालिकाको न्यायिक अभ्यास प्रस्तुत गर्दै स्थानीय स्तरमै सहज, सुलभ र छरितो न्याय सेवा उपलब्ध गराउन मेलम्चीले गरेको प्रयासबारे जानकारी दिनुभयो। उहाँले न्यायिक समितिको पहुँच वडा तहसम्म विस्तार गर्दै समुदायमै मेलमिलापको संस्कार विकास गर्न नगरपालिकाले काम गरिरहेको बताउनुभयो। मेलम्ची नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र नागरिक पहुँचलाई प्राथमिकतामा राख्दै न्यायिक संयन्त्रलाई सुदृढ बनाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक बसन्ती श्रेष्ठले स्थानीय सरकारको सबैभन्दा संवेदनशील जिम्मेवारीमध्ये न्याय सम्पादन एक भएको उल्लेख गर्दै न्यायिक समितिलाई जनविश्वासको केन्द्र बनाउन अनुभव, क्षमता र सहकार्य आवश्यक रहेको बताउनुभयो।

त्यस्तै मेलम्ची नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक  उमा प्रधानले यस्ता अन्तरपालिका अनुभव आदान–प्रदान कार्यक्रमले न्यायिक समितिका कामलाई अझ प्रभावकारी बनाउन प्रेरणा दिने बताउँदै स्थानीय तहहरूबिच सहकार्य र सिकाइको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रममा दुवै नगरपालिकाका जनप्रतिनिधि तथा न्यायिक शाखाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

यस कार्यक्रमले चन्द्रागिरि र मेलम्ची नगर पालिकाबिच न्यायिक क्षेत्रमा सहकार्य, सिकाइ र अनुभव आदान–प्रदानलाई थप मजबुत बनाउँदै स्थानीय न्याय प्रणालीलाई प्रभावकारी र नागरिकमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।